स्विट्जरल्याण्डविरुद्ध खेलमा आज रोनाल्डो मैदान फर्किने; खेल कति बजे? पुरा जानकारी

युइएफए नेसन्स लिगको पहिलो सेमिफाइनलमा बुधबार राती पोर्चुगल र स्विट्जरल्यान्ड भिड्ने छन् । खेल आज राती (बिहिवार) १२:३० मा हुने छ ।

पोर्चुगलले स्विट्जरल्यान्डको सामना गर्दा लामो समयदेखि टोली बाहिर रहेका कप्तान क्रिस्टियानो रोनाल्डोलाई बुधबार टिममा फर्किनेछ । २०१६ को युरोपियन च्याम्पियनसिप विजेता पोर्चुगल घरेलु मैदानमा पहिलो नेसन्स लिगको उपाधि उचाल्न चाहन्छ ।

फ्रान्सलाई उसैको मैदानमा स्तब्ध पारेर युरो २०१६ को उपाधि उचालेको पोर्चुगल घरेलु मैदानमा हुने नेसन्स लिगको फाइनलको प्रमूख दाबेदार मानिएको छ । युभेन्टसबाट वितेको सिजन इटालियन सिरी ‘ए’ जितेका रोनाल्डो राष्ट्रिय टोलीबाट पनि अर्को उपाधि उचाल्ने प्रयासमा हुनेछन् ।

प्रशिक्षक फर्नान्डो सान्तोसले प्रतियोगितामा परिचित खेलाडीहरुलाई नै सेमिफाइनलमा पनि निरन्तरता दिएका छन् । पोर्टोस्थित इस्टेडियो डो ड्रागाओमा हुने खेलमा सान्तोसले पछिल्लो समय चर्चाको शिखरमा रहेका बेन्फिकाका १९ वर्षिय फरवार्ड हुँवा फेलिक्सलाई पनि टोलीमा समेटेका छन् ।

यो सिजन क्लबबाट २६ खेल खेलेका फेलिक्सले १५ गोल गर्नुका साथै ७ गोलका लागि अवसर सिर्जना गरेका थिए । बेन्फिकाको उपाधि यात्रामा आफूलाई महत्वपूर्ण र क्षमतावान् खेलाडीको रुपमा परिचित गराइसकेका फेलिक्सको प्रदर्शनबाट प्रभावित भएर युरोपकै ठूला क्लबहरु म्यानचेस्टर युनाइटेड र रियल मड्रिडले उनलाई भित्र्याउने चर्चा बढिरहेको छ । राष्ट्रिय टोलीबाट गोल गर्न सके उनको बजार मुल्य अझ बढ्नेमा कुनै शंका छैन ।

प्रतियोगितामा ‘अन्डर डग्स’को रुपमा प्रस्तुत भएको स्वीट्जरल्यान्ड पोर्चुगललाई हराउँदै फाइनल पुग्न चाहन्छ । फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियममाथि नाटकीय जित निकाल्दै सेमिफाइनलसम्म आइपुगेको भ्लादिमिर पेट्कोभिचको टोली आक्रामक प्रस्तुतीलाई निरन्तरता दिन चाहन्छ । समूह चरणको अन्तिम खेलमा बेल्जियमले १७ मिनेटभित्र लिएको २-० को अग्रता उल्ट्याएर ५-३ को विजयी नतिजा निकाल्दै स्वीटजरल्यान्डले पोर्चुगलसँगको भेट निश्चित गरेको थियो ।