स्वारेज र काभानी चम्कदा उरुग्वेको सान्दार जित

सोमबार विहान भएको खेलमा उरुग्वेले १० खेलाडीमा सीमित भएको इक्वेडरलाई ४–० गोलले पराजित गरेको हो । उरुग्वेको जितमा निकोलास लोडेरिया, इडिसन काभानी र लुइस स्वारेजले समान एक एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।

एकतर्फि बनेको खेलमा उरुग्वेका लागि खेलको छैटौं मिनेटमै निकोलास लोडेरियाले पहिलो गोल गर्दै अग्रता १–० बनाएका थिए । त्यसपछि इक्वेडर २४ औं मिनेटमा १० खेलाडीमा खुम्चियो ।

इक्वेडरका जोसे क्न्टिेरोज सोझै रातो कार्ड खाएर मैदान छाडेपछि एकतर्फी दबाब बढाउन थालेको उरुग्वेका लागि खेलको ३३औं मिनेटमा इडिसन काभानीले आकर्षक बाइसाइकल गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

त्यपछि खेलको ४४ औं मिनेटमा लुइस स्वारेजले किपरको छेउबाटै गोल गर्दै अग्रता ३–० बनाएका थिए । पहिलो हाफ ३–० ले अगाडी रहेको उरुग्वेले दोस्रो हाफमा एक गोल उपहार पायो । उरुग्वेबाट लगातार आक्रमण खेल खेलेपछि इक्वेडर झन दवाबमा आयो । इक्वेडरका अर्टुरो मिनाले ७८औं मिनेटमा आत्मघाती गोल गरे । डि बक्सभित्र बल क्लियर गर्नेक्रममा मिनालाई लाग्दै बल आफ्नै पोस्टमा छिरेपछि उरुग्वेले खेलमा ४–० को अग्रता बनायो ।

बाँकी समयमा दुबैबाट गोल नभएपछि उरुग्वेले ३ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थान लियो । । पराजित इक्वेडर पुछारमा छ ।