स्लोभाकिया माथी स्पेनको शान्दार जित

एजेन्सी, युरो २०२० अन्तर्गत ग्रुप ई को अन्तिम खेलमा स्पेनले स्लोभाकिया माथी शान्दार जित निकालेको छ। नेपाली समय अनुसार जुन २३ बुधबार राती ९:४५ मा भएको उक्त खेलमा स्पेनले स्लोभाकिया माथी ५-० को शान्दार जित निकालेको हो।

पहिलो हाफको ११ औ मिनेटमा स्लोभाकियाका खेलाडी ह्रोमाडाले कोके माथी फल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टी अल्भारो मोराटाले लिएका थिए तर स्लोभाकियाका गोलकिपर डुभ्राव्काले त्यसलाई गोलमा परिवर्तन भने हुन दिएनन्।
खेलको ३० औ मिनेटमा भने डुभ्राव्काले आत्म घाती गोल गरे पछि स्पेनले १-० को अग्रता पाएको थियो। खेलको ४५ औ मिनेटको थप समयमा जेरार्ड मोरेनोको पासमा लापोर्टाले गोल गरि स्पेनको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको ५६ औ मिनेटमा जोर्डी आल्बाको पासमा सराबियाले गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाए। खेलको ६७ औ मिनेटमा भने सराबियाको पासमा फेरन टोरेसले गोल गरि स्पेनको अग्रता ४-० पुर्याए। खेलको ७१ औ मिनेटमा युराइ कुट्सकाले आत्म घाती गोल गरेपछि स्पेनले स्लोभाकिया माथी ५-० को शान्दार जित निकाल्न सफल भएका थिए।
यस जित पछि स्पेन आफ्नो ग्रुपको अंक तालिकामा ५ अंक सहित दोश्रो स्थानमा रहेको छ। पहिलो स्थानमा ७ अंक सहित स्विडेन रहेको छ। स्पेनले राउन्ड अफ १६ मा क्रोएसियासँग नेपाली समय अनुसार जुन २८ सोमबार राती ९:४५ मा खेल्दै छ।