स्पेनिस क्लबको नजर डिबालामा 

स्पेनिस ला लिगा क्लब एटलेटिको म्याड्रिड युभेन्टसका स्टार पाउलो डिबाला साइन गर्न इच्छुक रहेको खबर छ। खबर अनुसार ला लिगा च्याम्पियनले आउँदो ट्रान्सफर विन्डोमा युभेका स्टार डिबाला साइन गर्न प्रयास गर्ने छ।

एटलेटिकोका कोच डिएगो सिमोने डिबालाका ठुलो प्रशंसक हुन् र उनलाई साइन गर्न एटलेटिकोले एन्जेल कोरिया दिने खबर छ। एटलेटिकोले डिबाला सँग एन्जेल कोरिया साट्ने प्रस्ताव गर्ने चर्चा छ भने एटलेटिकोले युभेन्टसमा लोनमा रहेका आफ्नो स्ट्राइकर अलभारो मोराटाको पनि प्रयोग गर्न सक्ने खबर छ।

क्लबहरू बिचको सम्पर्कको क्रममा एटलेटिकोले युभेका रोड्रिगो बेन्टानकुरमा पनि चासो देखाएको र उनलाई लोनमा आएका मिडफिल्डर लुकास तोरेराको प्रतिस्थापनको रूपमा साइन गर्ने एटलेटिकोको योजना हुन सक्ने छ ।

युभेन्टस पनि डिबालालाई बेच्न तयार हुने खबर छ। यो सिजन सुरु हुन अगाडी डिबाला क्लब छोड्न धेरै नजिक थिए तर उनी क्लब मै रहे भने आउँदो गर्मीको ट्रान्सफर विन्डोमा उनले क्लब छोड्ने सम्भावना धेरै रहेको छ।