स्पेनिश फर्वार्ड माथी चेल्सीको नजर

एजेन्सी, इङलिस क्लब चेल्सीको नजर स्पेनिश क्लब भिलारियालका फर्वार्ड जेरार्ड मोरेनो माथी परेको छ। मोरेनोले गत सिजन भिलारियालका लागि उत्कृष्ट प्रदर्शन गर्नुका साथै फाइनलमा म्यान्चेस्टर युनाइटेडलाई पराजित गरि युरोपा लिगको उपाधी पनि जित्न सफल भएका थिए।

रिपोर्टका अनुसार चेल्सीका फर्वार्ड टिमो वर्नरले आशा अनुरुप प्रदर्शन गर्न नसक्दा चेल्सी नयाँ फर्वार्डको खोजीमा लागेका छन्। चेल्सी ह्यारी केन र अर्लिङ हालाण्ड जस्ता खेलाडी भित्र्याउन इच्छुक भएता पनि उच्च मुल्यको कारण चेल्सीले मोरेनोलाई ह्यारी केन र अर्लिङ हालाण्डको विकल्पको रुपमा लिएको बताइएको छ। रिपोर्टका अनुसार चेल्सीले हालाण्ड भित्र्याउन नसकेको खण्डमा मात्र मोरेनो भित्र्याउन प्रयास गर्नेछन्।
२९ वर्षका मोरेनोले गत सिजन भिलारियालका लागि सबै प्रतिस्पर्धाहरुमा ४६ खेलमा ३० गोल र ११ असिस्ट गर्न सफल भएका थिए। उनि हाल युरो २०२० अन्तर्गत आफ्नो राष्ट्रिय टोलिसँग आबद्ध छन्।