स्टेडियम कब्जा गरेर म्यानचेस्टर युनाइटेड फ्यानहरूले गरे विरोध प्रदर्शन

म्यानचेस्टर युनाइटेड फ्यानहरूको विरोध प्रदर्शन पछि आइतबार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल स्थगित हुन पुग्यो।

खेल सुरु हुने खेल घण्टा अगाडी म्यानचेस्टर युनाइटेडका फ्यानहरू ओल्ड ट्राफोर्ड स्टेडियममा घुसे र क्लबको मालिक विरुद्ध विरोध प्रदर्शन गरे।

उक्त विरोध प्रदर्शनमा २०० भन्दा बढी म्यानचेस्टर युनाइटेड फ्यानहरू रहेको खबर छ र उक्त फ्यानहरू स्टेडियम भित्र खेल मैदानमा पुगे र खेल रोक्दै क्लब मालिक ग्लेजर परिवारको विरोध गरे।

नयाँ युरोपियन सुपर लिग गठनमा म्यानचेस्टर युनाइटेडका मालिकहरूको पनि संलग्नता रहेको थियो र सो कुराबाट फ्यानहरू धेरै आक्रोशित थिए।

हाल म्यानचेस्टर युनाइटेडका फ्यानहरूले ग्लेजर परिवारलाई क्लब बेच्न दबाब दिँदै विरोध प्रदर्शन गर्दै छन्। अर्सेनलका फ्यानहरूले पनि आफ्नो मालिक विरुद्ध स्टेडियम बाहिर विरोध प्रदर्शन गरेका थिए भने चेल्सी र लिभरपुलका फ्यानहरूले पनि स्टेडियम बाहिर युरोपियन सुपर लिग विरुद्ध विरोध प्रदर्शन गरेका थिए।

आइतबार म्यानचेस्टर युनाइटेड फ्यानहरूद्वारा भएको उक्त विरोध प्रदर्शन पछि म्यानचेस्टर युनाइटेड र लिभरपुल बिचको खेल स्थगित भएको थियो। उक्त घटना पछि हाल म्यानचेस्टर युनाइटेडले आधिकारिक बयान जारी गर्दै सो फ्यानहरुको सो व्यवहारको निन्दा गरेको छ।