स्टार डिफेन्डर साइन गर्न चेल्सीले १५१ मिलियन युरो खर्च गर्न सक्ने 

नयाँ डिफेन्डरको खोजीमा रहेको प्रिमियर लिग क्लब चेल्सीको नजर युभेन्टसका स्टार म्याथिज्स डे लिग्टमा रहेको छ र उनलाई साइन गर्न चेल्सीले १२८ मिलियन पाउन्ड(१५१ मिलियन युरो) खर्च गर्न इच्छुक रहेको जानकारी छ।

जनवरीको ट्रान्सफर विन्डो हाल धेरै नजिक रहेको छ भने चेल्सीलाई नयाँ डिफेन्डर खाँचो रहेको छ। एन्टोनियो रुडिगर, सेजर एजपिलिकुएटा, एन्ड्रियास क्रिस्टेनसेन र थियागो सिल्भा सिजनको अन्त्यमा क्लब छोड्ने क्रममा रहेको बेला नयाँ डिफेन्डर साइन गर्न पर्ने दबाबमा चेल्सी रहेको छ।

हाल चेल्सीको नाम युभेन्टसका डच स्टार म्याथिज्स डे लिग्ट सँग जोडिएको छ र उनलाई साइन गर्न अन्य क्लबहरू पनि इच्छुक रहेको बेला उनको रिलिज क्लज तिरेर उनलाई साइन गर्ने चेल्सीको योजना हुन सक्ने रिपोर्ट छ।

खबर अनुसार गर्मीको ट्रान्सफर विन्डोमा चेल्सीले उनको रिलिज क्लज तिरेर उनलाई साइन गर्न सक्ने छ र उनको रिलिज क्लज १२८ मिलियन पाउन्ड(१५१ मिलियन युरो) रहेको छ।

 

उक्त ट्रान्सफर सफल भए डे लिग्ट फुटबल इतिहासको सबैभन्दा महँगो डिफेन्डर हुने छन्। डे लिग्ट साइन गर्न अन्य धेरै क्लबहरू पनि इच्छुक रहेको बेला चेल्सी सबै क्लबलाई पछि पार्दै उनलाई भित्राउन इच्छुक हुने जानकारी छ।