स्कटल्यान्डले रच्यो यस्तो इतिहास, खेलाडीहरु थाम्न सकेन खुशीको आँसु

स्कटल्यान्ड अर्काे वर्ष आयोजना हुने युरोकपमा छनोट हुन सफल भएको छ । बिहीबार राति सर्वियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै स्कटल्यान्डले युरोकपमा स्थान सुरक्षित गरेको हो ।

स्कटल्यान्ड १९९८ पछि कुनै पनि ठुलो प्रतियोगितामा छनोट हुन सफल भएको हो । यस्तै हंगेरी, नर्थ म्यासेडोनिया र स्लोभाकियाले पनि युरोकपमा स्थान पक्का गरेको छ । यससँगै युरोकपमा सहभागी हुनै सबै २४ टोलीको टुंगो लागेको छ ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा तथा थप ३० मिनेटको खेलमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा स्कटल्यान्डले बाजी मारेको हो । पेनाल्टी सुटआउटमा स्कटल्यान्डका लेइग ग्रिफिट्स, कलुम म्याकग्रेगर, स्कट म्याकटोमिने, ओलिभर म्याकब्रुन र केनी म्याकलिनले गोल गरे ।

सर्वियाका डुसान टाडिक, लुका जोभिक, नेमान्जा गुडेल्ज र एलेक्सान्डर काटाईले गोल गर्दा अन्तिम पेनाल्टीमा एलेक्सान्डर मित्रोभिक चुके । त्यसअघि राजको मिटि बियोग्राड सर्वियामा भएको निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

५२औं मिनेटमा रायन क्रिस्टिले गोल गर्दै स्कटल्यान्डलाई अग्रता दिलाए । उनले कलुम म्याकग्रिगरको पासमा गोल गर्न सफल भएका थिए । ९०औं मिनेटमा स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड लुका जोभिकले गोल गर्दै खेललाई बराबरीमा ल्याउदै सर्वियाको आशा जीवितै बनाएका थिए ।

तर, त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समय र पेनाल्टी सुटआउटमा धकेलिएको थियो । यससँगै स्कटल्यान्ड इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक रहेको समूह ‘डी’ मा परेको छ ।