सेभिल्लासँग रियलको नमिठो हार

रियल म्याड्रिडले शीर्ष स्थानमा एकल अग्रता बनाउने मौका गुमाएको छ । सेभिल्लाको घरेलु मैदानमा रियल म्याड्रिड ३-० ले पराजित हुन पुग्यो ।

खेलको ३९ औं मिनेटमा नै रियल ३-० ले पछाडी परेको थियो । १७ औं मिनेटमा पोर्चुगलका फरवार्ड आन्द्रे सिल्भाले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाए । उनले जेसस नाभासको क्रसमा गोल गरेका थिए । त्यसको ४ मिनेट नबित्दै सिल्भाले अग्रता दोब्बर पारे । नाभासकै प्रहार रिबाउन्ड आएपछि उनले त्यसमा गोल गरेका थिए ।

पहिलो हाफ सकिन ६ मिनेट बाँकी छँदा फर्ममा रहेका फरवार्ड विसाम बेन येडरले उत्कृष्ट भली गोल गर्दै ३-० को अग्रता दिलाए । येडरले पछिल्लो ३ खेलमा ६ गोल गरिसकेका छन् । निकै कमजोर देखिएको रियल म्याड्रिडले यसै सिजन भित्रिएका प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा पहिलो लिग हार बेहोरेको हो ।

रियलले सेभिल्लाको तुलनामा पोस्ट आक्रमण धेरै गरेपनि ति आक्रमण स्तरीय भने रहेनन् । अग्रपंक्तिमा ग्यारेथ बेलले केहि आशालाग्दो प्रदर्शन गरेपनि अन्य खेलाडीले भने त्यसलाई सहयोग पुर्याउन सकेनन् । बेल आफैंले पनि केहि मौकाको सदुपयोग गर्न चुकेका थिए । पछिल्लो खेलमा विश्राम पाएका बेलले वन भर्सेस वनमा पनि गोल गर्न असफल रहेका थिए ।