सेभिल्लाद्वारा म्याड्रिड पराजित

ला लिगामा एट्लेटिको म्याड्रिडले सेभिल्लासँग हार बेहोरेको छ । घरेलु मैदानमा सेभिल्लाले एट्लेटिकोलाई २–१ ले पराजित गरेको हो ।

सेभिललाको जितमा इभान राकिटिच र लुकास ओकम्पासले गोल गरे । एट्लेटिकोका फिलिपेले एक गोल फर्काए । रमन सान्चेज पिजुवानमा शनिबार राति भएको खेलको सातौं मिनेटमा इभान राकिटिचको गोलबाट घरेलु टोली सेभिल्लाले अग्रता बनाएको थियो । राकिटिचले करिम रिकिकको पासमा गोल गरेका थिए ।

३३औं मिनेटमा फिलिपेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले थोमस लेमारको पासमा गोल गरेका थिए । निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा लुकास ओकम्पासले गोल गर्दै सेभिल्लालाई २–१ को जित दिलाए । उनले जुलेस कोन्डेको पासलाई सदुपयोग गरेका थिए ।

यो जितसँगै सेभिल्लाले शीर्षस्थानको रियल म्याड्रिडलाई दवाव बढाउँदा दोस्रो स्थानलाई मजवुत बनाएको छ । सेभिल्ला रियलसँग ५ अंकले पछि छ । सेभिल्लाको ३७ तथा रियलको ४२ अंक छ । पराजित एट्लेटिको १७ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।