सेभियालाई हराउदै बार्सिलोना शीर्ष स्थानमा, मेस्सी घाइते

साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा सेभियालाई ४ – २ गोल अन्तरले हराउदै बार्सिलोनाले शीर्ष स्थानमा फर्किएको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन फिलिपे कौटिन्हो, लियोनल मेस्सी, लुइस स्वारेज र इभान राकिटिचले एक एक गोल गरे । सेभियाका पाब्लो सराबिया र लुइस मुइरेलले एक एक गोल फर्काए ।

क्याम्प नाउमा कौटिन्होले खेलको दोस्रो मिनेटमै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता २ – ० को बनाए ।

तर, खेलको २६ औं मिनेटमा कप्तान मेस्सी घाइते हुँदै मैदानबाट बाहिरिए । सेभियाका फ्रान्को भाज्क्वेजसंग जुध्न पुग्दा मेस्सीको दाहिने कुममा चोट बोकेका थिए ।

सेभियासंगको घाइते बनेसंगै मेस्सीले एल क्लासिको भिडन्त गुमाउन सक्ने बताईएको छ । तर, बार्सिलोनाले मेस्सीको इन्जुरीबारे केहि बताएको छैन । उनको स्थानमा ओसुमाने डेम्बेले मैदान छिरेका थिए ।

मेस्सी घाइते भएपनि बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ६३ औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता ३ – ० को बनाए । खेलको ७९ औं मिनेटमा सेभियाका सराबियाले गोल गर्दै खेल ३ – १ मा ल्याए । ८८ औं मिनेटमा राकिटिचले गोल गरेपछि बार्सिलोनाको अग्रता ४ – १ मा पुग्यो ।

त्यसपछि खेलको अन्तिम समयमा सेभियाका मुइरेलले थप एक गोल फर्काएपनि बार्सिलोना ४ – २ ले विजयी भयो ।
जितसंगै शीर्ष स्थानमा फर्किएको बार्सिलोनाले ९ खेलबाट १८ अंक जोडेको छ । ९ खेलबाट १६ अंक जोडेको सेभिया तेस्रो स्थानमा झरेको छ ।

ला लिगा अन्तर्गत नै भिया रियल र एट्लेटिको मड्रिडले भने १ – १ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।