सीपीएलको शीर्ष स्थानमा सन्दीपको टोली

सेन्ट किट्सले ५ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । उसले रन रेटमा ट्रिनबागो नाइट राइडर्स, गुयाना अमेजन वारियर्स र जमैका तल्लावलाई पछि पारेको हो ।
बार्बाडोसले दिएको १ सय ४८ रनको लक्ष्य सेन्ट किट्सले ७ बल बाँकी छदा ४ विकेट गुमाएर पूरा गर्‍यो । शुरुमै ओपनर क्रिस गेललाई शुन्य रन र एभिन लेविसलाई एक रनमा गुमाएर दवावमा आएको सेन्ट किट्सको इनिङ्स ब्रान्डन किङ र डिभोन थोमसले सम्हालेका थिए ।

ब्रान्डनले ६० रन जोड्दा थोमसले ३२ रनको योगदान दिए । बेन कटिङ २९ रनमा तथा टोम कुपर १३ रनमा नटआउट रहे । मोहम्मद इरफानले २ तथा वाहव रियाज र एस्ले नर्सले समान १ विकेट लिए । मोहम्मदले आफ्नो स्पेलको चार ओभरमा ३ मेडन राख्दै १ रन दिएर दुई विकेट लिन सफल भएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।

बार्बाडोसका लागि जासोन होल्डरले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । शाइ होपले २६ रन जोडे । ड्याइन स्मिथ २० तथा मार्टिन गुप्तिलले १९ रन जोडे । एन्टोन डेभसिच र विन कटिङले समान दुई विकेट लिए । सेल्डन कटरेलले एक विकेट लिए । सन्दीप लामिछाने बार्बाडोसविरुद्धको खेलमा निकै महँगो सावित भए । आफ्नो स्पेलको चार ओभरमा सन्दीले ४३ रन खर्चदा एक विकेट पनि लिन सकेनन् ।