सिरी ‘ए’ मा रोनाल्डो र युभेन्टसले बनाए यस्तो रेकर्ड

सिरी ‘ए’मा शनिबारदेखि यसवर्षका खेलहरु सकिएका छन् । यस वर्षका खेल सकिँदासम्म जारी सिरी ‘ए’मा लिग लिडर युभेन्टसले अपराजित यात्रा कायमै राखेको छ भने फराकिलो अग्रतासहित शीर्ष स्थान जमाइरहेको छ । लिग लिडर युभेन्टसले शनिबार राति २०१८ वर्षको अन्तिम खेल खेलेको थियो । सो खेलमा युभेन्टसले पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो प्रेरित जित निकालेको थियो ।

उसले आफ्नो घरेलु मैदानमा साम्पडोरियाविरुद्ध २–१ को जित निकालेको थियो । जसमा दुवै गोल रोनाल्डोले गरेका थिए । रोनाल्डोले त्यस खेलमा दोस्रो मिनेटमा नै गोल गरेका थिए भने दोस्रो गोल ६५ औं मिनेटमा गरेका थिए । त्यस खेलमा निर्णायक दुई गोल गरेका रोनाल्डोले एउटा नयाँ कीर्तिमान बनाएका छन् । २०१८ वर्षमा ४९ गोल गरेका रोनाल्डो इटालियन सिरी ‘ए’ मा सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी बनेका छन् ।

यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस आएका उनले पोर्चुगिज खेलाडी रुई बारिओसको रेकर्ड तोडेका छन् । बारिओसले सन् १९८८/८९ को सिजनमा १२ गोल गरेका थिए । उनको सो रेकर्डलाई तोड्दै रोनाल्डोले आधा सिजन सकिँदासम्म १४ गोल गरेका छन् । रोनाल्डो यस सिजनको सिरी एको आधा सिजन सकिँदासम्म सर्वाधिक गोलकर्ता बनेका छन् ।

रोनाल्डोले मात्र नभएर उनको क्लब युभेन्टसले पनि नयाँ रेकर्ड बनाएको छ । १९ औं चरणको खेल सकिँदासम्म अपराजित रहेको छ भने आधा लिग सकिँदासम्ममा सर्वाधिक ५३ अंक जोडेको छ । यो लिगकै इतिहासमा सबैभन्दा धेरै हो । युभेन्टसले १९ औं खेल खेल्दा १७ खेलमा जित र दुई खेलमा बराबरी खेलेको छ ।