सिरी ए मा आज रोनाल्डोको युभेन्टस र इमपोलीको भिड्दै, खेल कति बजे ?

इटालीको घरेलु लिग ‘सिरी ए’ मा आजबाट दशौं हप्ताका खेल हुँदैछन् । आज जम्मा ३ खेल हुँदैछन् । आज हुने खेलमध्ये इमपोली र लिग लिडर युभेन्टसको खेल धेरैको चासोमा छ । सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टस हालसम्म लिगमा अपराजित रहेको छ । उसले खेलेका ९ खेलमध्ये ८ खेलमा स्पष्ट जित निकालेको छ भने एक खेल बराबरी गरेको छ ।

आज अवे मैदानमा इमपोलीविरुद्ध उत्रिँदा युभेन्टस अर्को जितको खोजीमा हुनेछ । आजको खेलमा रोनाल्डो अर्को गोलको खोजीमा हुनेछन् । उनले लिगमा हालसम्म ९ खेलबाट ५ गोल गरेका छन् भने ४ गोलका लागि पाससमेत मिलाएका छन् ।

यसअघि युरोपियन च्याम्पियन्स लिगमा आफ्नो पूर्वक्लब म्यानेस्टर युनाइटेडविरुद्ध भएको खेलमा उनले गोल गर्न नसके पनि गोलका लागि भूमिका भने खेलेका थिए । तसर्थ, रोनाल्डोले आज थप गोल गरेर गोल संख्या बढाउन प्रयास गर्नेछन् ।

इमपोली र युभेन्टसको खेल आज राति ९ः४५ बजेबाट सुरु हुनेछ । त्यसअघि साँझ ६ः४५ बजेबाट एट्लान्टा र पार्माको खेल हुनेछ । त्यसैगरी, आजै राति १२ः१५ बजेबाट टोरिनो र फिओरेनिटिनाको खेल हुनेछ ।