सिपोरा सम्मिलित न्यू डायमण्डलाई हराउँदै पुलिसले जित्यो उपाधी

नेपाल पुलिस क्लबले तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको लामाचौरमा सोमबार भएको फाइनलमा चार पटकको च्याम्पियन होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

मुख्य स्पाईकर प्रतिभा माली र लिब्रो सलिना श्रेष्ठ बिनाको न्यू डायमण्डलाई पुलिसले एकतर्फी जित निकाल्यो ।राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका कारण प्रतिभा र सलिनाले प्रतियोगिता नखेलेकी हुन् ।

पुलिसले न्यू डायमण्डमाथि पहिलो सेटमा २५-१६, दोस्रो सेटमा २५-१४ र तेस्रो सेटमा २५-२० को जित निकाल्यो ।
पुलिसले पहिलो पटक यस प्रतियोगिताको उपाधि जितेको हो । उपाधिसँगै पुलिसले १ लाख नगद प्राप्त गरेको छ । उपविजेता न्यू डायमण्डले ६५ हजारमा चित्त बुझायो ।

प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भयो । तेस्रो स्थानको लागि भएको खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३-० को सोझो सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो ।

तेस्रो स्थान हासिल गर्ने क्रममा गण्डकीले श्रीरामलाई २५-१३,२५-१६ र २५-१८ को सेटमा पराजित गर्यो । तेस्रो भएसँगै गण्डकीले नगद २५ हजार प्राप्त गरेको छ ।
नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।