सिपोरा गुरुङले न्यू डायमण्डबाट खेल्ने, पुरा जानकारी

महिला भलिबल खेलाडी सिपोरा गुरुङले भलिबलमा पुनरागमन गर्ने भएकी छिन् । लामो समय भलिबल कोर्ट बाहिर रहेकी सिपोराले पोखरामा आयोजना हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिता खेल्दै भलिबलमा पुनरागमन गर्ने भएकी छिन्।

घरेलु प्रतियोगिताका लागि सिपोरा नेपाली महिला भलिबलको चर्चित क्लब न्यू डायमण्ड एकेडमीसँग अनुबन्धित भएकी छिन् ।

एकेडमीका प्रशिक्षक कुमार राईले घरेलु प्रतियोगिताका लागि सिपोरालाई क्लबले अनुबन्ध गरेको जानकारी गराए ।

‘सिपोराले घरेलु प्रतियोगिता खेल्न क्लबसँग आग्रह गरेकी थिईन् । सोहि अनुसार क्लबले सिपोरालाई अनुबन्ध गरेको छ,’ प्रशिक्षक राईले खेलपाटीसँग भने, ‘अब सिपोराले सबै घरेलु प्रतियोगिता न्यू डायमण्डबाट खेल्ने छिन् ।’

अब पोखराको लामाचौरमा तीजको अवसरमा हुने महिला प्रतियोगितामा सिपोराले न्यू डायमण्ड एकेडमीको जर्सी लगाउने छिन् । त्यसपछिका सबै घरेलु प्रतियोगितामा सिपोराले न्यू डायमण्डको जर्सी लगाउने छिन् । प्रतियोगिताका लागि सिपोरा न्यू डायमण्डको टिमसँग प्रशिक्षण गरिरहेकी छिन् ।

श्रीलंकाको कोलम्बोमा सम्पन्न १० औं दक्षिण एसियाली खेलकुद (साग) बाट राष्ट्रिय टिममा डेब्यु गरेकी सिपोरा चोट बोकेपछि भलिबल बाहिर रहदै आएकी थिईन् ।

१२ वर्षकै उमेरमा नेपाली टोलीमा डेब्यु गरेकी सिपोराले बिस २०६८ सालको घुँडाको चोट बोकेकी थिईन् । पोखरामा भएको वाइवाइ अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको दौरान बोकेको चोटले उनको भलिबल करियरलाई पूर्णविराम जस्तै लगाएको थियो । उनि फिस्टेल एकेडमीबाट खेल्दै आएकी थिईन् ।

पछिल्लो समय भने सिपोरा पढाईका लागि अमेरिकामा रहदै आएकी छिन् । पढाईसँगै सिपोरा मोडलिङ र चलचित्र क्षेत्रमा समेत सक्रिय रहेकी थिईन् ।

राष्ट्रिय टिमबाट नेपालमा आयोजना हुने १३ औं साग खेलकुद खेलेर सन्यास लिने योजना अनुसार सिपोरा भलिबलमा फर्किन लागेकी हुन् । जसका लागि सिपोराले नेपाल भलिबल संघसँग आग्रह समेत गरेकी छिन् ।