सिटि आफ्नो स्टार खेलाडीका लागि युभेन्टसको प्रस्ताव विचार गर्दै

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर सिटिका स्ट्राइकर ग्याब्रियल जिसुस इटालीयन क्लब युभेन्टस जान सक्ने सम्भावना देखिएको छ। रिपोर्टका अनुसार युभेन्टस ब्राजिलियन स्ट्राइकर जिसुसलाई लोनमा भित्र्याउन इच्छुक छन् भने एक सिजन पछि स्थायी रुपमा नै अनुबन्ध गर्न चाहन्छन्।

युभेन्टस हाल आर्थिक रुपले कम्जोर रहेकाले जिसुसलाई लोनमा भित्र्याउन इच्छुक रहेको बताइएको छ। युभेन्टसको आर्थिक अवस्था कम्जोर रहेकै कारण आफ्नो स्टार खेलाडी क्रीस्टियानो रोनाल्डोले क्लब छाडेको खण्डमा मात्र जिसुसलाई भित्र्याउन सक्ने आंकलन गरिएको छ।
सिटिले भने आफुले पनि अर्को फर्वार्ड भित्र्याएको खण्डमा मात्र जिसुसलाई जान दिने देखिन्छ। रिपोर्टका अनुसार सिटि ह्यारी केन अथवा अर्लिङ हालाण्ड भित्र्याउन इच्छुक छ। २४ वर्षका ब्राजिलियन खेलाडी जिसुसले सिटिमा अनुबन्ध भए देखि क्लबका लागि १९५ खेलमा ८२ गोल गर्न सफल भइ सकेका छन्।