सिटिका लागि केनको विकल्प ग्रिज्म्यान

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर सिटिले स्पेनिश क्लब बार्सिलोनाका फर्वार्ड एन्टोन ग्रिज्म्यानलाई इङलिस खेलाडी ह्यारी केनको विकल्पको रुपमा पहिचान गरेको छ। रिपोर्टका अनुसार म्यान्चेस्टर सिटिले केन भित्र्याउन नसकेको खण्डमा ग्रिज्म्यान भित्र्याउन प्रयास गर्नेछ।

म्यान्चेस्टर सिटि ह्यारी केन र अर्लिङ हालण्ड जस्ता स्टार खेलाडी भित्र्याउन इच्छुक भएता पनि उच्च मुल्यको कारण केहि विकल्पहरु पहिचान गरिरहेको आंकलन गरिएको छ। टोटनह्यामका स्टार फर्वार्ड ह्यारी केनको मूल्य करिब १५० मिलियन पाउन्ड रहेको अनुमान लगाइएको छ भने टोटनह्याम पनि उनलाई बेच्न अनिच्छुक देखिन्छन्। ग्रिज्म्यानको मुल्य भने हाल ६० मिलियन युरो रहेको आंकलन गरिएको छ। उनी २०२४ सम्म बार्सिलोनामा अनुबन्ध छन्।
३० वर्षका फ्रेन्च खेलाडी ग्रिज्म्यान २०१९ मा करिब १२० मिलियन युरोमा अर्का स्पेनिश क्लब एट्लेटिको मड्रिडबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। उनले बार्सिलोनाका लागि ९९ खेल खेल्नुका साथै ३५ गोल पनि गरेका छन्।