सिजनको पहिलो खेलमै म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमा पराजित

प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले म्यान्चेस्टर युनाइटेडलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा क्रिस्टलले युनाइटेडलाई ३–१ ले पराजितगर्दै लिगमा लगातार दोस्रो जित निकालेको हो ।

प्यालेसको जितमा वेल्फ्रेड जहाले २ र एन्ड्रोस टाउन्सेन्टले १ गोल गरे ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा सातौं मिनेटमा क्रिस्टलले अग्रता बनायो । जेस्सी स्चलुपको पासमा टाउनसेन्टले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । ७४ औं मिनेटमा भिक्टर ल्याण्डीलोफले डिबक्समा ह्याण्ड गरेपछि क्रिस्टलले पेनाल्टीको अवसर पायो । क्रिस्टलका जोर्डन एयुले प्रहार गरेको पेनाल्टी गोल रक्षक डि गेयाले बचाए, तर डि गेया लाइन भन्दा अघि बढेको भन्दै भिएआरको सहायताले रेफ्रिले पुनः क्रिस्टललाई पेनाल्टीको अवसर दिए । दोस्रो पटकको प्रयासमा जहाले क्रिस्टलका लागि दोस्रो गोल गरे ।

८० औं मिनेटमा डोनी भान डे विकले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए । युनाईटेडका लागि पहिलो खेल खेलिरहेका डे विकले डेब्यू गोल गर्दा युनाइटेडले खेलमा फर्कने आशा कायमै राख्यो, तर जहाले ८१ औं मिनेटमा युनाइटेडका दई डिफेन्डरलाई बिट गर्दै गोल थपेपछि क्रिस्टलले ३–१ को जित शुनिश्चीत गर्यो ।

यो क्रिस्टलको लगातार दोस्रो जित हो । क्रिस्टलले यसअघि पहिलो खेलमा साउथह्याम्टनलाई पराजित गरेको थियो । युनाइटेडले भने हारसँगै सिजन २०२०२१ को सुरुवात गरेको छ ।