सिजनको अन्त्यमा इनिष्टा बार्सा छाड्दै चाइनिज क्लबमा जाने

आन्द्रे इनियस्टाले यो सिजनको अन्त्यसँगै बार्सिलोनासँगको लामो यात्राको अन्त्य गर्ने घोषणा गरेका छन् । १२ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका इनियस्टाले २२ वर्षपछि औपचारिक रुपमा विदाई लिन लागेका हुन् ।

यो सिजनको अन्त्यसँगै उनले क्लब छोड्ने चर्चा केहि अघिबाटै चलेपनि शुक्रबार उनले औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । यद्दपी उनले अबको गन्तव्यका बारेका बताउँन चाहेनन् । उनी एमएलएसका लागि अमेरिका वा चीन जान सक्ने बताइएको छ ।

औपचारिक घोषणा कार्यक्रममा भावुक हुँदै इनियस्टाले भने, ‘बार्सिलोनामा यो मेरो अन्तिम सिजन भएको सार्वजनिक गर्दछु ।’ उनले आफ्ना लागि बार्सिलोना विश्वकै उत्कृष्ट क्लब भएको समेत बताए । ‘यो क्लबले मलाई सब थोक दियो । अब मेरो भूमिका यहाँ आएर टुंगिदैछ । टोलीले म भन्दा उत्कृष्ट खेलाडीको हक राख्दछ । मानसिक वा शारीरिक रुपमा म भविष्यमा आफ्नो उत्कृष्ट दिन सक्दिन ।’

उनले विदा माग्न सहज नहुने समेत सुनाए । ‘विदाई माग्न कठिन हुन्छ । क्लब र क्लबका साथीहरुलाई धन्यवाद दिन चाहन्छु । श्रीमती, परिवार र मलाई साथ दिने सबै प्रति आभारी छु,’ उनले भने, ‘सबै अवस्थामा साथ दिने समर्थकको साथ रह्यो । एउटा व्यक्तिका रुपमा यति साथ पाउनु आफैमा अश्विसनिय छ ।’

इनियस्टाले परिवार र नजिककाहरुलाई केहि अघि नै क्लब छाड्ने जानकारी दिएका थिए । कहि समय लिएर उनले टोलीका अन्य साथी र विश्वभरका सञ्चारमाध्यमलाई औपचारिक जानकारी गराए । सन् २००२ को जुलाईबाट उनीले बार्सिलोनाको सिनियर टोलीबाट खेलेका थिए । १६ सिजन क्लबमा विताउने क्रममा उनले अहिले सम्म ६ सय ७० खेल खेले ।

बार्सिलोनामा आबद्ध भएयता उनले २९ उपाधि जितिसकेका छन् । यहि बीचमा उनले ८ ला लिगा, ४ च्याम्पियन्स लिग उपाधि जितेका छन् । टोलीको कप्तानी समेत गर्दै महान खेलाडीको सुचिमा राख्न आफुलाई सफल भएका इनियस्टा बार्सिलोनको एकेडेमीबाट आएका खेलाडी हुन् ।

बार्सिलोनाले उनलाई खेल जीवनपछि पनि क्लबमै राख्न चाहेको थियो । उनलाई प्रशिक्षक इर्नेस्टो भाल्भार्डेको सहगोगीका रुपमा क्लबले हेरेको थियो । तर, सबै सम्भावनालाई पूर्णविराम लगाउँदै उनले क्लब छाड्ने निर्णय सुनाएका छन् ।