सिएसकेए मस्कोसँग रियल म्याड्रिडको हार

मस्कोको घरेलु मैदान लुज्निकी स्टेडियममा मंगलबार राति भएको खेलमा रियाललाई स्तब्ध बनाउन निकोला भ्लासिकले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । मुख्य खेलाडीहरु ग्यारेथ बेल, मार्सेलो र कप्तान सर्जियो रामोसविनै मैदान उत्रिएको रियाल खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो ।

रियालका गोलरक्षक केलर नाभास र डिफेन्डर राफेल भरानेबीच तालमेल मिन्ल नसके फाइदा उठाउदै मस्कोका निकोला भ्लासिकले डि–बक्सभित्रबाट गरेको भली प्रहार गोलमा परिणत भएको थियो । खेलमा १–० ले पछि परेपछि रियालले आक्रमक फुटबल खेल्दै गोलको लागि निरन्तर आक्रमण बुनिरह्यो । २९औं मिनेटमा क्यासमिरोको प्रहार क्रसबारमा लागेर फर्किला रियालले बराबरी गर्ने मौका गुमायो ।

४०औं मिेनटमा कप्तान करिम बेन्जेमाको प्रहार पनि बारमा लागेर फर्किएको थियो । दोस्रो हाफमा पनि रियालले मस्कोको पोस्टमा पटकपटक आक्रमण बुनेपनि गोल गर्न सफल हुन सकेन । ९०औं मिनेटमा मारियानो डियाजको प्रहार पनि बारका लागेर फर्कदा रियाल चुक चुकाउदै मस्कोसँग १–० ले स्तब्ध बन्न पुग्यो ।

रियालमाथि मस्कोको यो पहिलो जित हो । यसअघि मस्कोले रियालसँग १ बराबरी र १ खेलमा हार बेहोरेको थियो । खेलमा रियालले ७२ प्रतिशत बल पोजिसन राखेपनि गोल गर्न असमर्थ रह्यो । रियालले मस्कोको चुस्त र बलियो रक्षापङ्ति तोड्न सकेन ।

रियालमाथिको महत्वपूर्ण जितसँगै मस्को दुई खेलबाट ४ अंक जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । मस्कोसँगको हारपछि रियाल ३ अंकसहति तालिकामा दोस्रो स्थानमा झरेको छ ।