साफ महिला फुटबल: साबित्राको क्रीतिमानी गोलमा नेपालको जित, फाइनलमा भारतसंग भिड्ने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला फुटबल अन्तर्गत नेपालले माल्दिभ्सबिरुद्ध जित निकालेको छ ।

पोखरा रंगशाला स्थित भएको खेलमा नेपालले ३-० को जित दर्ता गरेको हो ।

नेपालका लागि सावित्राले ह्याट्रिक गरेकी थिइन् ।

पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् । उनले १८ औं मिनेटमा पहिलो र २२ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । पहिलो गोलले उनलाई नेपालको सर्वाधिक गोलकर्ता बनाएको छ ।

भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो पटक नै नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ । यसअघि सन् २०१० र २०१६ मा यी दुई टोली नै फाइनलमा भेट भएको थियो । यसपटक पनि दुवै टोलीले राउन्ड रोविन लिगको एक खेल बाँकी रहँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । फाइनल अघि राउन्ड रोविनमा भारत र नेपालबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।

यसअघिका दुवै संस्करणमा भारतले स्वर्ण र नेपालले रजत पदक जितेका छन् । सागमा मात्र होइन महिला साफ च्याम्पियनसिपमा पनि यी दुई टोलीबीच नै सबैभन्दा बढी फाइनल हुँदै आएको छ । पाँच मध्ये ४ पटक भारत र नेपालबीच नै फाइनल भएको छ । जसमा भारत सधै विजेता र नेपाल उपविजेता बन्दै आएका छन् ।