साफ च्याम्पियनसिप २०१८:- नेपाल र पाकिस्तानको खेल अाज

आजदेखि बंगलादेशमा शुरु हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपतर्फ नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ । बंगबन्धु नेशनल स्टेडियममा नेपाली समयअनुसार ३:४५ मा शुरु हुने नेपाल र पाकिस्तानको भिडन्त दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ ।

भर्खरै इण्डोनेसियामा सम्पन्न एसियन गेम्सको पुरुष फुटबलतर्फ नेपाली यु–२३ टोलीले पाकिस्तानको यु–२३ टोलीसँग बेहोरेको हारको बदला लिने पनि राम्रो अवसर छ । आजको खेलमा नेपाललाई नै जितको बलियो प्रत्याशी मानिएको छ । यद्यपि नतिजा पाकिस्तानले आफ्नो पक्षमा पार्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो लक्ष्य पहिला नकआउट चरण त्यसपछि उपाधितर्फ रहेको बताईसकेका छन् । त्यसैले पनि नेपालले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउन आजको खेलमा जितका साथ प्रतियोगिताको शुरुवाती गर्नुपर्नेछ ।

मंगलबार नै समूह ए तर्फ रहेका आयोजक बंगलादेश र भुटान पनि आमने सामने हुँदैछन् ।