साफ च्याम्पियनसिप – भारतीय प्रशिक्षकलाई प्रश्नः के यो प्रतियोगितालाई कम आँकेको?

साफ च्याम्पियनसिपको उपाधि लक्ष्य जित्नका लागि ६ वटा मुलुकले सबैभन्दा क्षमतावान खेलाडीको टिम तयार पारेर बंगलादेश ल्याउँदा भारतले भने यु–२३ टिमलाई सहभागि गराएको छ । अघिल्लो संस्करणको विजेता भारतले युवा टिम ल्याएकोमा धेरेको मनमा एउटा प्रश्न थियो, के भारतले यो प्रतियोगितालाई अवमुल्यन गरेको हो ?

समूह बीमा रहेको भारतले पहिलो खेलमा श्रीलंकालाई २–० ले हरायो । र त्यही युवा टिमले उपाधि रक्षा गर्न सक्छ भनेर प्रशिक्षकलाई भरोसा समेत दिलाएको छ । खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक स्टेफेन कन्स्ट्यानटाइनलाई त्यही प्रश्न गरियो । के भारतले यो प्रतियोगितालाई कम आँकेको हो ? के भारतले यो प्रतियोगितालाई कम महत्वपूर्ण सोचेको हो ?

सन् १९९९ देखि २००५ सम्म नेपालको प्रशिक्षण सम्हालिसकेका वेलायती प्रशिक्षकको जवाफ थियो, ‘प्रतियोगितालाई अपमान गर्न खोजेको होइन, युवा खेलाडीको क्षमता अभिबृद्धि गर्नका लागि हो ।’

‘यू–२० उमेर समूहले कतिवटा प्रतियोगिता खेल्न पाउँछ ? ओलम्पिक्स छनोट र एसियन कप छनोट बाहेक कुनै पनि प्रतियोगिता खेल्न पाउँदैनन् । चार वर्षमा ४/५ वटाभन्दा धेरै प्रतियोगिता खेल्न पाउँदैन । हामीले भविष्यमा इरान, दक्षिण कोरिया, जापान जस्ता मुलुकसँग प्रतिष्पर्धा गर्नुछ । त्यसका लागि ४/५ वटा प्रतियोगिता विश्वकप छनोट र एसियन कप छनोटका लागि पर्याप्त हुँदैन । यो प्रतियोगिता युवा खेलाडीको षमता अभिबृद्धि गर्नका लागि ठूलो अवसरका रुपमा लिउका छौं’, प्रशिक्षक कन्स्ट्यान्टाइनको भनाई छ ।

‘हामी ५/६ वर्षका लागि टिम निर्माण गर्दैछौं । साफमा युवा खेलाडीले आफूलाई प्रमाणित गर्ने र अनुभव बटुलने मौका पाउँछन् ।’