साफ च्याम्पियनसिपको उपाधी माल्दिभ्सलाई

माल्दिभ्सले १२ औं संस्करणको साफ सुजुकी कप (साफ च्याम्पियनसिप) फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा साबिकको उपविजेता भारतलाई २ – १ ले हराएर माल्दिभ्सले उपाधि जितेको हो । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा माल्दिभ्सलाई जित दिलाउन इब्राहिम महुधी र अली फसिरले समान एक एक गोल गरे । भारतका सुमित पसाईले एक गोल फर्काए ।

 

माल्दिभ्सले दुवै हाफमा एक एक गोल गरेको थियो । खेलको १९ औं मिनेटमा महुधीले गोल गर्दै माल्दिभ्सलाई सुरुवाती अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा फसिरले गोल गर्दै माल्दिभ्सलाई २ – ० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा भारतका सुमितले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन ।

 

यो संगै माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ ।