साफ उपविजेता महिला टोली सम्मानित

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई सोमबार विराटनगरमा सम्मान गरिएको छ।

विराटनगर महानगरपालिकाले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेर राष्ट्रिय टोलीका प्रशिक्षक हरि खड्कासहित २६ जनालाई नगद पुरस्कारले सम्मान गरेको हो। जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको महानगरले जनाएको छ। साफ महिलाको उपाधि भिडन्तको पूर्वसन्ध्यामा महानगरले खेलाडीलाई नगदसहित सम्मान गर्ने जनाएको थियो।

२०७५ फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरको सहिद रंगशालामा आयोजित साफको उपाधि भिडन्तमा नेपाली टोली भारतसँग ३–१ गोलअन्तरले पराजित भएको थियो।

प्रशिक्षक खड्काले साफ महिला च्याम्पियसिपमा उपविजेतामा सीमित भए पनि खेलाडीले आगामी दिनमा विजेता बन्ने हिसाबको प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले आगामी प्रतियोगितामा उच्च मनोबलका साथ खेलाडी मैदानमा उत्रने बताए। ‘देशलाई के दिन सकिन्छ भन्ने भावना बोकेर खेलाडी लागिपरेका छन्,’ खड्काले भने, ‘मैदानमा खेलाडीदेखि प्रशिक्षकसम्मको उद्देश्य जित नै हुन्छ।’ हारजित खेलको पाटो भए पनि विराटनगरले गरेको सम्मान र खेल तथा खेलाडीप्रति देखाएको सद्भावले थप हौसला मिलेको उनको भनाइ छ।

कार्यक्रममा महानगरका मेयर भीम पराजुलीले राष्ट्रिय महिला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आयोजना गर्न प्रदेश १ को राजधानी विराटनगर तयार रहेको बताए। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजनाका लागि अवसर दिए महानगरले प्रतियोगिता सफल बनाएर देखाउने उनको भनाइ छ। साफ महिला च्याम्पियनसिप सफलतापूर्वक रूपमा सम्पन्न गरेर जुनसुकै प्रतियोगिता पनि आयोजना गर्न महानगरले आफू सक्षम छु भन्ने देखाइसकेको पराजुलीले बताए। भने, ‘एन्फाले अवसर दिए पछि हट्दैनौं। सहर्ष स्वीकार गरेर प्रतियोगिता सफल पार्नतिर लाग्नेछौं।’

मेयर पराजुलीले विराटनगर महानगरपालिकामा खेल विद्यालयको अवधारणा पनि अघि बढाइने बताएका छन्। उनले विश्वकप छनोटको खेलका लागि अवसर दिए त्यसमा समेत आफूहरू तयार रहेको उल्लेख गरे। भने, ‘काठमाडौंमा रंगशाला अभाव भएका हो भने हामीसँग अन्तर्राष्ट्रियस्तरको रंगशाला तयारी अवस्थामा छ। जहाँ साफ महिला च्याम्पियनसिप सम्पन्न भयो।’

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले भव्य रूपमा साफ महिला च्याम्पियनसिप सम्पन्न गरेको महानगरले इच्छा गरेमा महिला ‘ए’ डिभिजनको व्यावसायिक लिग सुरु गर्न सकिने बताए। व्यावसायिक रूपमा समेत महिला खेलाडीको आर्थिक पक्षलाई लिगले सबल बनाउने बताउँदै उनले लिगपछि महिला टेक्निकल सेन्टर निर्माणको लागि पहल थाल्ने बताए। फुटबलको उर्वरभूमि विराटनगरमा लिग भएसँगै एन्फालाई महिला टेक्निकल सेन्टर स्थापनाका लागि बाटो खुल्ने शेर्पाको भनाइ छ। विराटनगरले करिब डेढ महिनाभन्दा कम समयमा नै साफको तयारी सकेर प्रतियोगिता सफलतापूर्वक रूपमा सम्पन्न गरेका कारण विराटनगरलाई पनि साफले अन्तर्राष्ट्रिय स्तरमै चिनाएको उनले बताए।

कार्यक्रममा महानगरकी उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राई, प्रवक्ता किरण राई, पूर्वखेलाडी एवं प्रशिक्षक शिवभक्त जोशी, सन्तोष बानियाँलगायतको सहभागिता रहेको थियो।

-अन्नपूण