नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि राजीनामा दिने घोषणा गरेका छन् ।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै अल्मुताइरीले पद त्यागको घोषणा गरेका हुन् ।
अल्मुताइरीले नेपाललाई साफको फाइनलमा पुर्राएर इतिहास रचेको र फाइनल आफ्नो अन्तिम खेल भएको बताए ।
‘मैले साफमा इतिहास बनाए । मैले एसिया कपमा छनोट गराए । आज नेपालले मात्र हैन दक्षिण एसियाली क्षेत्रले नेपाली टिमसँग गर्व गर्छ,’ प्रशिक्षक अल्मुताइरीले भने, ‘फाइनल खेल नेपाली राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ । म त्यसपछि नेपाल फर्किन्न ।’
राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल साफको फाइनलमा पुगेको छ ।
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।
अब नेपालले फाइनलमा भारत र माल्दिभ्स मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेश भने बाहिरिएको छ।
लिगको अन्तिम खेलमा आजै भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।
फाइनल पुग्न माल्दिभ्सलाई बराबरीले पुग्नेछ । भारतलाई भने जितको बिकल्प छैन ।