सान्दार जितका साथ लिभरपुललाई शीर्ष स्थानमा ६ अंकको अग्रता

बुधबार भएको खेलमा लिभरपुलले न्युकासल युनाइटेडलाई ४ – ० गोल अन्तरले हराएको हो । बक्सिङ डे को दिन घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डेजान लोभ्रेन, मोहमद सलाह, शाकिरी र फाबिन्होले एक एक गोल गरे ।

एनफिल्डमा एकतर्फी जित निकालेको लिभरपुलले खेलको ११ औं मिनेटमा लोभ्रेनको गोलबाट अग्रता बनाएको थियो । ४८ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता २ – ० को बनाए । खेलको ७९ औं मिनेटमा शाकिरीले गोल गर्दा लिभरपुल ३ – ० ले अघि रह्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा फाबिन्हो गोल गर्दै लिभरपुललाई ४ – ० को फराकिलो जित दिलाए ।

जितसंगै लिभरपुलले लिगमा ६ अंकको अग्रता बनाएको छ । लिभरपुलले १९ खेलबाट ५१ अंक जोडेको छ । र, उपाधि होड बलियो बनाउदै लगेको छ ।

लिगमा दोस्रो स्थानको टोटेनहमको ४५ अंक छ । यस्तै तस्रो स्थानको म्यानचेस्टर सिटीको ४४ अंक छ । लिगको १५ औं अ रहेको न्युकासलको १७ अंक छ ।