सान्चो डोर्ट्मण्डबाट युनाइटेडमा अनुबन्ध हुँदै गर्दा सिटिले १३ मिलियन युरो कमाउने

एजेन्सी, इङलिस युवा स्टार खेलाडी जेडन सान्चो जर्मन क्लब बोरुसिया डोर्ट्मण्डबाट इङलिस क्लब म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध हुँदै गर्दा अर्का इङलिस क्लब म्यान्चेस्टर सिटिले भने यो सम्झौताबाट करिब १३ मिलियन युरो कमाउने छ। सान्चो २०१५ देखि २०१७ सम्म सिटिको युवा टोलीसित आबद्ध थिए।

रिपोर्टका अनुसार उनी सिटिबाट डोर्ट्मण्डमा अनुबन्ध हुँदा सम्झौतामा डोर्ट्मण्डले उनलाई भविष्यमा बेचेको खण्डमा कुल रकमको १५ प्रतिशत डोर्ट्मण्डले सिटिलाई दिनुपर्ने उल्लेख गरिएको थियो। उक्त सम्झौता अनुसार नै सिटिले करिब १३ मिलियन युरो कमाउने भएको हो।
२१ वर्षका इङलिस विङ्गर सान्चो २०१७ मा करिब ८ मिलियन पाउन्डमा सिटिबाट डोर्ट्मण्डमा अनुबन्ध भएका थिए। उनी करिब ९० मिलियन युरोमा २०२६ सम्मका लागि युनाइटेडमा अनुबन्ध हुन लागेका हुन्।