साउदी क्लब अल हिलाल फिफा क्लब विश्वकपको फाइनलमा पुग्न सफल भएको छ ।
मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा ब्राजिलियन क्लब फ्लामेन्गोलाई ३-२ गोलले हराउँदै अल हिलाल विश्वकपको फाइनलमा पुगेको हो ।
खेलको चौथो मिनेटमै अल डाव्सारीले पेनाल्टीमा गोल गर्दै अल हिलाललाई शुरुवाती अग्रता दिलाएका थिए ।
२० औं मिनेटमा माथयूजिन्होको पासमा पेड्रोले गोल गर्दै फ्लामेन्गोलाई १-१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयको आठौँ मिनेटमा गेर्सन रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि फ्लामेन्गो १० खेलाडीमा समेटिएको थियो । लगत्तै अल डाव्सारीले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै अल हिलाललाई २-१ गोलको अग्रता दिलाए ।
७०औं मिनेटमा अल डाव्सारीको पासमा भिएट्टोले गोल गर्दै अल हिलालको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पेड्रोले व्यक्तिगत दोस्रो गोल गर्दै फ्लामेन्गोलाई ३-२ गोलको स्थितिमा ल्याएपनि टोलीको हार टार्न पर्याप्त रहेन ।
जीतसँगै अल हिलाल प्रतियोगिताको फाइनलमा पुग्दा फ्लामेन्गो प्रतियोगिताबाट बाहिरिएको छ । अब अल हिलालले फाइनल खेलमा आज अल अहली र रियल म्याड्रिडबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ ।