सलाहको निर्णायक गोलमा लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा

मोहम्मल सलाहको निर्णायक गोलमा लिभरपुलले इटालियन क्लब एसएससी नेपोलीलाई पराजित गर्दै युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

नकआउट चरणमा पुग्न जित्नै पर्ने खेलमा लिभरपुलले नेपोलीलाई १–० ले पराजित गरेको हो । लिभरपुल समुह ‘सी’ को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । यो समूहबाट फ्रेन्च लिग वान कलब पेरिस सेन्ट जर्मेन (पीएसजी) समूह विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।

एनफिल्डमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले ३४औं मिनेटमा मोहम्मद सलाहको गोलमा अग्रता बनाएको थियो । उनले जेम्स मिल्नरको पासलाई गोलमा परिणत गरेका थिए ।

३६औं मिनेटमा लिभरपुलका गोलरक्षक एलिसन बेकरले मारियो रुइजको प्रहारलाई क्लियर गर्दै सम्भावित बराबरी टारेका थिए । त्यसअघि २३औं मिनेटमा एलेसन्दर अर्नाेल्डले गोल गर्ने सुन्दर मौका खेर फालेका थिए ।

इन्ज्युरी समयमा वैकल्पिक खेलाडी मिलिकले ८ यार्डबाट गरेको शक्तिशाली प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले सुन्दर बचाउ गरेका थिए । त्यसपछि थप गोल हुन नसक्दा लिभर १–० ले विजयी हुन सफल भयो ।

जितपछि लिभरपुलको ६ खेलबाट ९ अंक छ । नेपोलीको पनि समान ९ अंक भएपनि लिभरपुलले नेपोलीलाई हेड टु हेडमा पछि पारेको हो ।