सलमान जेल जाँदा ओडीसीको ८ करोड धरापमा

बलिउड अभिनेता सलमान खान कृष्णसार शिकारको मुद्दामा ५ वर्षका लागि जेल गएका छन् । यदि उनलाई सुप्रिम कोर्टले धरौटीमा रिहा गरेन र पुरा अवधि जेल बस्नुपर्‍यो भने नेपालको शो रद्द हुनेछ ।

अहिलेसम्म ओडीसीले कार्यक्रमका लागि करिब आठ करोड खर्च गरिसकेको छ । आठ करोडमध्ये पाँच करोड सलमानसहित १ सय १० भारतीय कलाकार र प्राविधिकहरुको खातामा जम्मा गरिएको पारिश्रमिक हो भने बाँकी नेपालमा गरिएको विज्ञापन, लजिस्टिक र अन्य व्यवस्थापकीय खर्च । सलमान जेल जाँदा ओडीसीको आठ करोड जोखिममा परेको छ ।
ओडीसी इन्टरनेसनलका प्रमुख सिमान्त गुरुङका अनुसार आफ्नो कारणले सो रद्द गर्नु परेको अवस्थामा पैसा फिर्ता माग्न नमिल्ने तर उनीहरुको कारणले रद्द गर्नुपर्‍यो भने आफुहरुले सबै पैसा फिर्ता माग्ने बताएका छन् ।
यदि भारतीय कलाकारहरुबाट पैसा फिर्ता आएपनि ओडीसीलाई घाटा हुनेछ । पहिले घोषित मितिमा शो नहुँदा नै ओडीसीलाई करोडौं घाटा लागिसकेको छ ।
यद्यपि, सलमानलाई सुप्रिम कोर्टले धरौटीमा रिहा गर्नेमा आफू आशावादी रहेको गुरुङ बताउँछन् । सलमानको ‘द ब्याङ टुर’ अन्तरगत हुने भनिएको भ्रमणमा सोनाक्षी सिन्हा, प्रभू देवा, मनिष पल आदि कलाकारहरु समावेश छन् ।
बलिउड अभिनेता सलमान खानले गत फागुन २६ गते नेपालमा कन्सर्ट गर्ने कार्यक्रम थियो, जुन विप्लव माओवादीको धम्कीले गर्दा स्थगित भयो ।
त्यसपछि आयोजक ओडीसी इन्टरनेसनले गुपचुपरुपमा कार्यक्रमको नयाँ डेट आउँदो २ जेठका लागि तय गरेको छ ।