सर्जियो एग्वेरो जाँदाजादै नयाँ कीर्तिमान बनाउन सफल

एजेन्सी, सर्जियो एग्वेरोले प्रेमियर लिगमा म्यान्चेस्टर सिटिका लागि आफ्नो अन्तिम खेलमा २ गोल गर्न सफल भएका छन्। एभरटनसँगको उक्त खेल सिटिले ५-० को भारी अन्तरले जितेको थियो। एग्वेरोले उक्त २ गोलको मद्दतले नयाँ कीर्तिमान समेत कायम गर्न सफल भएका छन्। उनी प्रेमियर लिगमा एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका छन्।

उन्ले प्रेमीयर लिगमा म्यान्चेस्टर सिटिका लागि कुल १८४ गोल गर्न सफल भएका छन्। उनी म्यान्चेस्टर युनाइटेडका वेन रुनिले कायम गरेको १८३ गोलको कीर्तिमानलाई तोड्न सफल भएका हुन्। उनी प्रेमीयर लिग इतिहासकै सर्वाधिक गोलकर्ता भने होइनन्। यो कीर्तिमान कायम गर्ने खेलाडी आलन शेरर हुन्। शेररले यो कीर्तिमान एकै क्लबबाट भने कायम गरेका होइनन्। उन्ले आफ्नो २६० प्रेमियर लिग गोल ब्ल्याकबर्न रोवर्स (११२) र न्युक्यासल युनाइटेड (१४८) बाट गरेका थिए।
सर्जियो एग्वेरो सन् २०११ मा लालिगाको क्लब एट्लेटिको म्याड्रिडबाट ३५ मिलियन पाउन्डमा सिटिमा अनुबन्धित भएका थिए। ३२ वर्षका अर्जेन्टिनियन खेलाडी एग्वेरोले सबै प्रतिस्पर्धाहरुमा सिटीका लागि ३८९ खेलमा २६० गोल गरेका छन्।उनी अर्को सिजन म्यान्चेस्टर सिटि छाडी बार्सिलोना जाने लगभग पक्का छ।