सरस्वती ८ वर्षपछि रेलिगेसनमा

सरस्वती युवा क्लबले नवौं चरणमा आएर पहिलो जित चाखेको थियो हिमालयन शेर्पाविरुद्ध  । त्यो ४–३ को जितलाई लिएर ‘फिक्सिङ’ को आरोप लाग्यो, जसले सरस्वतीलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगको एउटा क्लबको रूपमा सम्मानभन्दा बढी बद्नाम बनायो  ।

टोलीले त्यसअघि न जित निकालेको थियो न त त्यसयता नै ३ अंक जोड्न सक्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार च्यासलसँग २–१ ले हारेपछि सरस्वतीले एक खेल बाँकी छँदै ‘ए’ डिभिजनको हैसियत गुमाएको छ । अर्थात् सरस्वती ८ वर्षपछि फेरि रेलिगेसनमा पर्‍यो ।

‘५० लाख बजेटले पनि जोगिन्छ भन्ने लागेको थियो तर क्लबभित्रैबाट खेलाडीलाई दुर्व्यवहार गर्ने र हतोत्साही गर्ने काम भयो,’ सरस्वतीका अध्यक्ष शिक्षित पराजुलीले भने, ‘हामीले ७० लाख रुपैयाँको बजेट बनाएका थियौं । खर्च ७५ लाख पुग्ने भइसक्यो । हालसम्म आम्दानी ३५ लाख (एन्फाबाट लिगको तयारीलाई २० लाख, काठमाडौं महानगरको अनुदान १० लाख र चन्दा ५ लाख) मात्रै छ । बाँकी खर्च तिर्नैपर्छ । यी सबै जिम्मेवारी अध्यक्षको हैसियतले बहन गर्नेछु ।’ उनले आफ्नो क्लबविरुद्ध ‘बाहिरी चलखेल’ भएको दाबी पनि गरे ।

सोमबारै भएको १२ औं चरणको पहिलो खेलमा एपीएफले फ्रेन्ड्सलाई ५–२ ले पराजित गरेको थियो । नाटकीय रूपमा इन्ज्युरी समयको अन्तिम दुई मिनेटमा दुई गोल भएको खेलमा पाएको सफलतासँगै सशस्त्र प्रहरी बलको टिमले ब्रिगेड ब्वाइजसँग समान ८ अंक बनाएको थियो । दिनको दोस्रो खेलमा च्यासलविरुद्ध हारेपछि १४ क्लबमध्ये अन्तिम स्थानमा रहेको सरस्वती (४ अंक) एक खेल नखेल्दै अन्तिम स्थानमा रहने पक्का भएपछि ‘बी’ डिभिजनमा झरेको हो । सरस्वतीका अध्यक्ष पराजुलीले एपीएफ–फ्रेन्ड्सको नतिजालाई ‘फिक्सिङ’ को आरोप लगाए ।

‘हिमालयन शेर्पा र हाम्रो (सरस्वती) को नतिजालाई लिएर सबैले प्रश्न तेर्स्याए । हामीलाई निशाना बनाइयो,’ कोटेश्वर क्लबको सात वर्षयता नेतृत्व गरिरहेका अध्यक्ष पराजुलीले भने, ‘एपीएफ र फ्रेन्ड्सको खेल फिक्सिङ हो, नभए डिफेन्स र किपरले किन सजिलै बल छाडिदिन्छन् ? हिजो (आइतबार) बेलुकीसम्म एपीएफले लिग नै नखेल्ने धम्की पनि दियो । हामीमाथि प्रश्न उठाइन्छ भने एपीएफमाथि किन नउठाउने ?’

हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीलाई फिक्सिङको प्रस्ताव राखेको भन्दै इन्टिग्रिटी अफिसर सुदीप आचार्यको प्रतिवेदनअनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) को सचिवालयले सरस्वतीका कप्तान दीपेश श्रेष्ठलाई तीन खेलमा निलम्बन गरेको थियो । त्यसप्रति पनि अध्यक्ष पराजुलीले रोष व्यक्त गरे, ‘लिगको खेलाडीलाई कारबाही एन्फा सचिवालयले गर्ने कि अनुशासन समितिले ? यहाँ पनि गडबढ छ । हाम्रो मुख्य खेलाडी (दीपेश) भएको भए क्लबको यस्तो (हार) नहुन सक्थ्यो । यसको घाटा क्लबलाई पर्‍यो, जिम्मेवारी कसले लिने ?’

ब्रिगेड ब्वाइजसँग बराबरी खेलेको सरस्वतीले एक्लो जित हिमालयन शेर्पाविरुद्ध मात्रै निकाल्यो । अरु १० खेलमा सरस्वती हार्‍यो । संकटाविरुद्ध बिहीबारको खेल सरस्वतीका लागि ए डिभिजनबाट औपचारिक बिदाइ हुनेछ । पाँच वर्ष खेलेपछि २०३९ सालमा औपचारिक रूपमा दर्ता गरिएको क्लब सरस्वतीले पहिलोपल्ट २०६३ सालमा ए डिभिजन लिग खेलेको थियो र शीर्ष लिगको पहिलो अनुभवमै रेलिगेसनमा परेको थियो । पाँच वर्षपछि फेरि ए डिभिजनमा फर्कियो २०६८ सालमा । त्यसयता सरस्वती यसैपालि घटुवामा परेको हो ।

‘स्ट्राइकर भएन’
अग्रपंक्तिको कमजोरीले सरस्वती यसपालि रेलिगेसनमा परेको प्रशिक्षक प्रदीप नेपालले बताए । ‘जित्ने कोसिस गरेका हौं, तर रेलिगेसन भइहाल्यो,’ छिमेकी क्लब च्यासलसँग हारेपछि उनले भने, ‘स्ट्राइकरकै कमजोरी भयो । स्ट्राइकर नै भएनन् ।’
१२ खेलमा ८ गोल गरेको सरस्वती सबैभन्दा बढी ३० गोल बेहोरेको टिम हो । उसले सात खेलमा गोल गर्नै सकेन । प्रशिक्षक नेपालले भने, ‘मिडफिल्ड, डिफेन्सलगायत अरु पोजिसन ठीकै छ । स्ट्राइकर भएन र फिनिसिङ नभई खेल जित्दैन ।’ उनी पनि एपीएफसँग फ्रेन्ड्सको नतिजामा खनिए, ‘हामीले जित्दा के–के भनेका थिए । एपीएफको नतिजा फिक्सिङजस्तो लाग्छ । एन्फाले अनुसन्धान गर्ला नि !’

च्यासलको चौथो जितमा जापानी खेलाडीको निर्णायक रह्यो । ताइगो नाकामुराले १८ औं मिनेटमा गोलको खाता खोले भने हायतो वाकिनोले ६६ औं मिनेटमा च्यासलको अग्रता दोब्बर बनाए । सरस्वतीको लागि बुसारी काजिमले इन्ज्युरी समयको चौथो मिनेटमा सान्त्वना गोल गरे । च्यासल १५ अंकसहित शीर्ष
आठमा उक्लियो ।

@Kantipur

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ