सम्झौता नविकरण गर्न डेम्बेले र बार्सिलोना बिच कुराकानी

एजेन्सी, आफ्नो क्लबसँगको सम्झौता नविकरण गर्न स्पेनिश क्लब बार्सिलोनाका फर्वार्ड उस्मान डेम्बेले र बार्सिलोना बिच कुराकानी हुँदै छ। डेम्बेले यो सिजन सम्मका लागि मात्र बार्सिलोनामा अनुबन्ध छन् र अर्को वर्ष फ्री एजेन्टको रुपमा क्लब छाड्न सक्ने छन्।

रिपोर्टका अनुसार हालै सक्किएको ट्रान्सफर विन्डोमा बार्साले आफ्ना फर्वार्ड लियोनल मेस्सी र एन्टुवान ग्रीज्म्यान दुवै गुमाएकाले बार्सिलोना पनि डेम्बेलेसँगको सम्झौता नविकरण गर्न इच्छुक छन्। बार्सिलोनामा अनुबन्ध भएपछि उनले आशा अनुरुप प्रदर्शन भने गर्न सकेका छैनन्।
२४ वर्षका फ्रेन्च फर्वार्ड डेम्बेले २०१७ मा जर्मन क्लब बोरुसिया डोर्टमण्डबाट करिब १०५ मिलियन युरोमा बार्सिलोनामा अनुबन्ध भएका थिए। उनले बार्सिलोनाका लागि ११८ खेलमा ३० गोल गरेका छन्। धेरै समय घाइते भएका कारणले पनि उनले बार्सिलोनामा पर्याप्त खेल समय भने पाउन सकेका छैनन्।