सन् २०१८ सन्दिप लामिछानेको विश्व क्रीकेट मा उदय

नोभेम्बरमा राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने (१८) बंगलादेश प्रिमियर लिग (बिपिएल) को ड्राफ्टमा परेको समाचारले ठूलै चर्चा पायो। किनकि नेपाली खेलाडी विदेशी टी–२० लिगको ड्राफ्टमा पहिलो पटक परेका थिए। अक्सनमा उनलाई कुनै पनि टिमले आफ्नो टिममा भित्र्याउन चासो नदेखाउँदा विदेशी लिग खेल्ने पहिलो खेलाडी बन्ने अवसर भने उनले त्यतिबेला पाएनन्।

दुई महिनापछि सन्दीप अर्को टी–२० फ्रेन्चाइज लिग पाकिस्तान सुपर लिग (पिएसएल) को पनि ड्राफ्टमा परेका थिए। यसपटक पनि सुखद् समाचार आउन सकेन। एक महिना बित्न नपाउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनका लागि खेलाडीहरुको नाम सार्वजनिक गरियो। पहिलो चरणको सूचीमा सन्दीप थिएनन्। सूची दर्ता गराउने प्रक्रिया लामो भएकाले सन्दीप आइपिएलको पहिलो चरणको सूचीमा अटेनन्। विशेष अनुरोध गरेपछि सन्दीप अक्सन सूचीमा पर्न सफल भए।

सन्दीप आइपिएलको अक्सन सूचीमा परेदेखि नै उनको चर्चा हुन थालेको थियो। किनकि सन्दीप र अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कबीच विशेष सम्बन्ध थियो। क्लार्कसँगकै सम्बन्धका कारण सन्दीपले १६ वर्षको उमेरमै अन्तर्राष्ट्रिय मिडियामा कभरेज पाए। यसपछि उनले फ्रेन्चाइज लिग खेल्नका लागि कदम चालेका थिए।

आइपिएलमा क्लार्कसँग राम्रो सम्बन्ध भएका रिकी पोन्टिङ दिल्ली डेयरडेभिल्सका प्रशिक्षक थिए। यस्तै नेपाली यू–१९ टिमका कन्सल्ट्यान्ट प्रशिक्षक मोन्टी देसाङले पनि सन्दीपबारे आइपिएलमा लबिङ गरेका थिए। नभन्दै सन्दीपलाई दिल्लीले ३२ लाख नेपाली रुपैयाँमा आबद्ध गर्यो। त्यसपछि सन्दीपको व्यावसायिक करिअरले गति लिन थाल्यो। क्रिकेट जगत्मा नेपाली ‘सेन वार्न’को रुपमा चर्चित भए।

दिल्लीको टिममा आबद्ध भए पनि उनले सुरुवाती खेलमा मौका पाउन सकेनन्। लगातार कमजोर प्रदर्शन गरेको दिल्ली आइपिएलको पहिलो चरणबाटै बाहिरिएपछि सन्दीपले बाह्रौं खेलमा मौका पाए।

उनी क्लबस्तरीय क्रिकेटमा संसारकै ठूलो प्रतिस्पर्धा इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली बनेका थिए। आइपिएलमा समावेश मात्र भएनन्, डेब्यू खेलमै विश्वभरिबाट प्रशंसासमेत कमाए।

विश्वका चर्चित खेलाडी विराट कोहली तथा एबी डिभिल्लर्सलाई समेत हैरान बनाउने गरी बलिङ गरे उनले। सन्दीपले आइपिएलका पछिल्ला ३ खेलमा ५ विकेट लिएका थिए। १६.४ को औसतमा बलिङ गरेका सन्दीपको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंसा गरेका थिए।