सन्दीप बार्बादोस ट्राइडेन्ट्समा; दीपेन्द्र, सोमपाल र रोहित कहाँ? पुरा जानकारी

पहिलो पटक क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा परेका नेपाली क्रिकेटरहरु दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल ड्राफ्टमा बिकेनन् । सातौं संस्करणको सिपिएलको ड्राफ्टमा परेका ४ नेपाली खेलाडीमध्ये लेग स्पिर सन्दीप लामिछाने मात्र बिकेका छन् ।

पहिलो पटक ड्राफ्टमा परेका दीपेन्द्र, सोमपाल र रोहितमा माथि बुधबार राति लन्डनमा भएको ड्राफ्टमा कुनै क्लबले चासो देखाएनन् ।

यो सँगै सोमपाल दोस्रो पटक विदेशी फ्रेन्चाइजको ड्राफ्टमा परेर पनि कुनै पनि टिममा आबद्ध हुन असफल भए । यसअघि सोमपाल पहिलो संस्करणको अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा परेका थिए ।

दीपेन्द्र र रोहित भने पहिलो पटक कुनै पनि विदेशी लिगको ड्राफ्टमा परेका हुन् । अलराउन्डर दीपेन्द्र ऐरी नेपाली राष्ट्रिय टिमका भरपर्दा ब्याट्सम्यान हुन् भने यू–१९ टिमका कप्तान रोहित मिडलअर्डर ब्याट्सम्यान हुन् ।

बुधबार भएको ड्राफ्टबाट युवा लेगस्पिनर सन्दीपलाई बार्बादोस ट्राइडेन्ट्सले ७० हजार अमेरिकी डलरमा किनेको छ । यो सन्दीपको सबैभन्दा महँगो अनुबन्धन हो । अघिल्लो सिजन उनी ५ हजार डलरमा बिकेका थिए ।

बुधबार भएको ड्राफ्टबाट ६ क्लबले १७–१७ खेलाडी किनेका छन् । ड्राफ्टमा २० देशका ५३६ खेलाडी परेका थिए । सिपिएल आगामी ४ सेप्टेम्बरदेखि १२ अक्टोबरसम्म हुने छ ।