सन्दीप अष्ट्रेलियन बिग ब्यासमा आबद्ध

नेपालका स्टार स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियामा हुने बिग ब्यास क्रिकेट अन्तर्गत मेलबोर्न स्टार्ससँग आबद्ध भएका छन्।

यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने दक्षिण अफ्रीकाको टि-२० लिगको ड्राफ्टबाट नाम फिर्ता लिएका सन्दीपले क्रिकेटमा अर्को फड्को मारेका हुन्। भारतको आइपिएलमा दिल्लीबाट खेल्दै किर्तिमान बनाएका उनी एसोसिएट राष्ट्रबाट बिग ब्यास खेल्ने पहिलो खेलाडी हुनेछन्।

इन्डियन प्रिमियर लिग(आइपीएलमा) दिल्लीबाट व्यवसायिक क्रिकेट थालेका सन्दीपले ग्लोबल टी–२० क्यानडा,क्यारेवियन प्रिमियर लिग जस्ता विश्वचर्चित लिगमा खेली सकेका छन् । त्यस्तै अफगानिस्तान प्रिमियर लिग र युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टी-१० मा पनि अनुबन्ध भई सकेका छन् । सन्दीपले यसअघि अस्ट्रेलियन भूमीमा अनुभव बटुलीसकेका छन्। अस्ट्रेलियाको ग्रेड क्रिकेटमा खेल्दै सन् २०१६ मा उनले माइकल क्लार्कको निरीक्षणमा प्रशिक्षण लिएका थिए।

अफघानिस्तानका मुजीब उर रहमानले पनि बिग ब्यासमा मौका पाएका थिए । उनलाई गत साता मात्र ब्रिसबेन हर्ट्सले आबद्ध गरेको थियो।