सन्दीपले बनाए कीर्तिमान

आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ प्रतियोगितामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले कीर्तिमान बनाएका छन् । मलेसियामा जारी छनोट अन्तर्गत सिंगापुरविरुद्ध ४ विकेट लिदै सन्दीपले राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।

सन्दीपले जारी प्रतियोगितामा २४ विकेट लिंदै बसन्त रेग्मीको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । तर, सन्दीपले उमेर समूहको यू-१९ अन्तराष्ट्रिय प्रतियोगितामा भने २३ विकेट लिईसकेका छन् ।

यसअघि सो कीर्तिमान बसन्त रेग्मीको नाममा थियो । उनले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए । जुन खेल मलेसियामै भएको थियो ।
ईन्डियन प्रिमियर लिग (आईपीएल) खेलिसकेका सन्दीपको स्पिन बलिङ अगाडी सबै छनोट राष्ट्रका ब्याट्सम्यानले घुँडा टेकेका छन् । प्रत्येक खेलमा जबर्जस्त प्रर्दशन गर्दै उनले विकेट समेत झारिरहेका छन् ।

मलेसियामा जारी छनोटको पहिलो खेलमा सन्दीपले म्यानमारविरुद्ध ४ विकेट लिएका थिए । दुई ओभर बलिङ गरेका उनले ३ रन खर्चेर ४ विकेट हात पारेका थिए ।
दोस्रो खेलमा मलेसियाविरुद्ध उनले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चेका थिए । थाईल्याण्डविरुद्धको तेस्रो खेलमा उनले ५ विकेट लिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै ८ रन खर्चेका थिए ।

भुटानविरुद्ध सन्दीपले ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले २ मेडन राख्दै ६ रन खर्चेका थिए ।
चीनविरुद्धको पाँचौ खेलमा सन्दीपले ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले १ मेडन आभेर फाल्दै ४ रन खर्चेका थिए ।