सन्दीपले ईपीएलको दुई खेल मात्र खेल्ने

 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला यूएईमा जारी टी-१० लिगमा व्यस्त छन् । उनले मंसिर २२ देखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियट्सको प्रतिनिधित्व गर्नेछन् ।

तर अष्ट्रेलियाको बिग ब्यास लिगमा सहभागिता जनाउन सन्दीपले ईपीएलको सुरुवाती दुई खेलमात्र खेल्ने भएका छन् । ललितपुर प्याट्रियट्सका अध्यक्ष किशोर महर्जनले बुधबार अायोजित पत्रकार सम्मेलनमा यसबारे पुष्टि गरेका हुन् । सन्दीपले मंसिर २२ मा विराटनगर वारियर्स र मंसिर २३ मा चितवन टाइगर्स विरुद्ध खेल्नेछन् ।

सन्दीप दोस्रो खेल खेलेपछि बिग ब्यासमा मेलबर्न स्टार्सबाट खेल्न अष्ट्रेलिया लाग्नेछन् । उनले त्यहाँपनि केहि खेल खेलेर बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाउन बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनले त्यहाँ सिल्हेट सिक्सर्सबाट खेल्नेछन् ।