सन्दीपलाई दिल्लीको प्लेइङ ११ मा पर्न झनै कठिन हुने; येस्तो छ कारण

आइपीएलको आउँदो सिजनका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले भारतीय अनुभवी स्पिनर रविचन्द्रन आश्विनलाई भित्र्याउने सम्भावना बढेको छ ।

आइपीएलकै किंग्स–११ पञ्जावका कप्तानसमेत रहेका आश्विनलाई भित्र्याउन दिल्लीले छलफल सुरु गरेको छ ।
दिल्लीसँगै सनराइजर्स हैदरावादले पनि उनलाई टिममा ल्याउन इच्छा जाहेर गरेको छ । तथापि हैदरावादको प्रस्ताव अघि बढ्न सकेको छैन।

गत संस्करणमाआश्विन ७.६ करोड भारुमा पञ्जावमा जोडिएका थिए । टिममा आवद्ध भएसँगै उनलाई पञ्जावले कप्तानको जिम्मेवारी सुम्पिएको थियो ।

३२ वर्षीय आश्विन आइपीएलका सफल स्पिनरमा पर्छन्। पावर प्लेमा र डेथ ओभरमा उनी प्रभावशाली देखिदै आएका छन्। उनले आइपीएलका १३९ खेलमा १२५ विकेट लिइसकेका छन्।

यदि आश्विन दिल्ली आए उनी टिमका आठौं स्पिनर हुने छन्। दिल्लीमा अहिले नै ७ जना स्पिनर छन्। जसमा अक्षर पटेल, अमित मिश्रा, राहुल टेवटिया, जलाज सक्सेना, मयंक मार्कण्डे, जे सूचिथ र सन्दीप लामिछाने छन्।

दिल्लीमा स्पिनरको संख्या बढ्दै जाँदा नेपालका लेग स्पिनर सन्दीपलाई पहिलो रोजाइको टिममा पर्न कठिन बन्ने देखिएको छ।
यसअघि २०२० कै सिजनका लागि मुम्बई इन्डियन्सका २१ वर्षीय लेगस्पिनर मार्कण्डे दिल्लीमा आबद्ध भएका थिए। जससँगै तीन वर्षे सम्झौताको अन्तिम सिजनमा रहेका सन्दीपलाई पहिलो रोजाइमा पर्न झन् गाह्रो हुने देखिएको थियो।

मार्कण्डेले २०१८ को सिजनमा मुम्बईका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। गत सिजन भने उनले ३ म्याच मात्र खेलेका थिए।
यो अवस्थामा दिल्लीमा आएका मार्कण्डेको मुख्य प्रतिस्पर्धा सन्दीपसँग हुनेछ। अझ अनुभवी स्पिनर आस्विन आउँदा स्पिनरको कोटामा झन् प्रतिस्पर्धा हुने देखिएको छ।