सन्दीपलाई कारबाही, समर्थकको नारा

पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर टाईटन्सका कप्तान सन्दीप लामिछाने कारबाहीमा परेका छन् ।
आयोजक पिपिएलले सन्दीपले खेलको दौरान अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को नियम उल्लघन गरेको भन्दै कारबाही गरेको हो । कारबाही स्वरूप सन्दीपको एक अंक घटाइएको आयोजकले जनाएको छ ।

पीपीएल क्रिकेट अन्तर्गत शानिबार चितवन राइनोजविरुद्धको खेलमा सन्दीपले एम्पायरको निर्णयमा प्रश्न उठाएका थिए । उनले मैदानमा पटक पटक अम्पायर विनय झा र संजय गुरुङसंग आपत्ति जनाएका थिए । जसको कारण खेलको अम्पायर सत्यजित सरकारले सन्दीपलाई कारबाही गरेको हो ।

खेलको दौरान सन्दीपले अम्पायरको निर्णयमा आपत्ति र दुर्व्यबहार जनक व्यवहार गरेपछि समर्थकहरुले समेत सन्दीपविरुद्ध नारा लगाएका थिए । समर्थकहरुले सन्दीपलाई घमण्डी भन्दै नाराबाजी गरेका थिए ।

समर्थकहरुले ‘ सन्दीप घमण्डी ! सन्दीप घमण्डी’ नारा लगाएका थिए ।

अन्तिम खेलमा सन्दीपको टिम विराटनगर चितवनसंग ४ विकेटले पराजित भएको थियो । यस्तै विराटनगरले प्रतियोगिताको प्ले अफमा स्थान बनाउन सकेन ।