सन्दीपको टोली मेलबर्न स्टार्स समस्यामा

बीग बाश लिग (बीबीएल) मा सहभागी नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेको टोली मेलबर्न स्टार्स समस्यामा परेको छ । भारत विरुद्धको एकदिवसिय टोलीमा मेलबर्न स्टार्सको ४ प्रमुख खेलाडी राष्ट्रिय टोलीमा छानिएकाले आगामी ३ खेलमा समस्या पर्ने भएको हो ।

कप्तान ग्लेन म्याक्सवेल, ओपनर पिटर ह्यान्डस्कम्ब, स्पीनर एडम जाम्पा र अलराउन्डर मार्कस स्टोइनिसको अनुपस्थिती स्टार्सले आगामी ३ खेलसम्म व्यवस्थापन गर्नुपर्ने भएको बताइएको छ ।

यसअघि नै टोलीका प्रमुख खेलाडीमध्ये एक सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्नको लागि ढाका आइसकेका छन् । सन्दीपको स्थानमा इंग्ल्याण्डका तिब्र गतिका बलर लायाम प्लन्केट स्टार्समा आबद्ध भएका छन् ।

म्याक्सवेलको स्थानमा कार्याबाहक कप्तानको रुपमा अनुभवि खेलाडी निक म्याडिन्सनलाई ल्याइएको छ । उनले बुधबार हुने खेलमा स्टार्सको लागि डेब्यु पनि गर्नेछन् र टोलीको लागि कप्तानी पनि गर्ने भएका छन् ।

बैकल्पिक कप्तानको रुपमा हेरिएका पिटर ह्यान्डस्कम्ब पनि टोलीमा परेपछि स्टार्सले कार्याबाहक कप्तान खोज्नु परेको हो । म्याक्सवेल, जाम्पा र स्टोइनिस भने राष्ट्रिय टोलीमा पर्ने जानकारी स्टार्सलाई यसअघि नै रहेको टोलीले बताएकोे छ ।
दुईजना प्रमुख स्पीनर गुमाएको स्टार्सले विकल्पमा युवा स्पीनर टम ओ कोनोललाई बीबीएलमा खेल्ने अवसर दिने भएको छ ।