सन्दीपको उत्कृष्ट बलिङ तर आफ्नो टिमलाई जिताउँन असफल

ग्लोबल टी–ट्वीन्टी क्यानडा लिग क्रिकेटमा सन्दीप लामिछाने र सोमपाल कामीको टिमको प्रतिस्पर्धामा सोमपालको टिमले जितेको छ।

बिहीबार भएको  खेलमा सन्दीप आवद्ध टोरोन्टो नेशनलमा र सोमपाल आवद्ध विनिपेग हक्स बीचको प्रतिस्पर्धामा विनिपेग हक्सले डीएल नियमका आधारमा २ रनको जित निकालेको हो । इलिमिनेटर खेलमा जितसँगै विनिपेग हक्स क्यालिफायरका लागि छानिएको छ भने सन्दीपको टोली टोरोन्टो नेशनल प्रतियोगिताबाट बाहिरिएको छ

यस खेलमा  सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । सोमपाल भने प्लेइङ ११ मा समेटिएनन् । सन्दीपले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिए ।  पहिलो बलमा नै विकेट लिन सफल भएका थिए । तेस्रो ओभरमा बलिङमा आएका सन्दीपले पहिलो बलमा नै पाकिस्तानी खेलाडी उमर अकमललाई स्टम्पिङ आउट गराएका थिए । त्यसपछि उनले १३औं ओभरमा २९ बलमा ३६ रन बनाएर खेलिरहेका भारतीय खेलाडी सन्नी सोहललाई क्याच आउट गराए।

विनिपेगले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको टोरोन्टोले २० ओभरमा २३८ रन बनाएको थियो । २३९ रनको लक्ष्य पछ्याएको विनिपेगले १७.१ ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको अवस्थामा मौषस खराब भएपछि खेल रोकिएको थियो । डकवर्थ एण्ड लुइस नियमका आधारमा निर्णय गर्दा २ रनले नतिजा विनिपेग हक्सको पक्षमा गयो ।

क्यानडा लिगको यस सिजन ४ खेल खेल्न पाएका सन्दीपले ५ विकेट लिए । पहिलो खेलमा सन्दीपले ४ ओभरमा ४४ रन १ विकेट लिएका थिए । त्यसैगरी दोस्रो खेलमा ४ ओभरमा २८ रन १ विकेट र तेस्रो खेलमा ३ ओभरमा २५ रन दिएर १ विकेट लित सफल भएका थिए ।