सन्दिप लामिछाने आजको आइपिएल खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्द खेल्ने

जारी आइपीएलमा मैदान उत्रिन्छन् कि भनेर लाखौं नेपालीले आशा गरे पनि यसअघि भएका ४ खेलमा सन्दिपले अवसर भने पाएनन् । त्यसको मुख्य कारण हो, उनी भन्दा नाम चलेका र अलराउण्ड प्रदर्शन गर्न सक्ने खेलाडी टिममा हुनु नै ।

चर्चित खेलाडी ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, ड्यानियल क्रिस्टेयन, जासन रोय, टे«न्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट जस्ता खेलाडीसँग सन्दीपले प्रतिस्पर्धा गर्नुपरेको छ ।

दिल्ली डेयरडेभिल्सले एक खेलबाहेक अन्य खेलमा बिर्सनलायक प्रदर्शन गरेको गरिरहेको छ । आफुले खेलेको ४ खेलमध्ये १ खेलमा जित र ३ खेलमा हार बेहोरेको दिल्ली आईपीएलको पुछारमा छ । शनिबार दिल्लीले आफ्नो पाचौँ खेलमा भारतीय कप्तान विराट कोहली रहेको रोयल च्यालेन्जर्स बेंग्लोरसँग प्रतिस्पर्धा गर्दैछ । बेंगलुरुमा बेलुकी ८ बजेर १५ मिनेटमा सुरु हुने खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ ।

बेंग्लोरविरुद्धको खेलमा सन्दीप पर्ने सम्भावना पनि कायमै रहेको छ । किनभने यसअघि भएका खेलहरूमा विदेशी खेलाडी एक खेलमा बाहेक अन्यमा खासै चल्न सकेका छैनन् । त्यसैले पनि सन्दीपले मौका पाउन सक्ने अनुमान खेलप्रेमीहरुले गरेका छन् ।

साविक विजेता मुम्बई इन्डियन्सविरुद्धको खेलमा जासन रोयले अविजित ९१ रन बनाउँदा दिल्लीले ७ विकेटको जित निकालेको थियो । उनकै उत्कृष्टतामा दिल्लीले जित हात पारेको थियो ।

दिल्लीका स्पिनरहरू चल्न नसकेको अवस्थामा सन्दीप पर्ने सम्भावना पनि धेरै रहेको छ । भेट्रान खेलाडी अमित मिश्र पहिलो खेलमा खराब प्रदर्शनका कारण बेन्चमै बसेका छन् । उनको सट्टा प्रशिक्षक रिकी पोन्टिङले शहबाज नदिमलाई टिममा समावेश गरेका थिए । उनले पनि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । ३ खेलमा ३ विकेट लिएका छन् भने उनको इकोनोमी ९.९० मा छ ।

लगातार हारपछि दिल्लीले आफ्नो टिमको बारेमा विश्लेषण गर्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीको विश्लेषणमा सन्दीपले अवसर पाए राम्रो प्रदर्शन गर्न सक्ने पनि उल्लेख गरेको छ ।

यु–१९ विश्वकप ह्याट्रिक विकेट तथा आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को प्लेयर अफ द सिरिज समेत भएका सन्दीप नेपालका प्रतिभाशाली खेलाडी हुन् । अवसर पाए दिल्लीलाई खेल जिताउन सक्ने खुबी उनमा छ ।