सन्दिप क्रिकेटका आक्रामक योद्धा हुन् : जयवर्दने

जयवर्दनेले त्रिकोणात्मक टि–२० सिरिजअघि क्रिकेटसम्बन्धी वेबसाइट क्रिकइन्फोसँगको अन्तर्वार्तामा नेपाली युवा लेगस्पिनर सन्दिप लामिछानेको प्रसंशा गरेका छन् । उनको अन्तर्वार्ताको नेपाली अनुवाद :

मैले क्रिकेट नखेलेको धेरै भइसकेको छ । त्यसका बावजुद मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)ले मप्रति विश्वास गरेर मलाई कप्तानको जिम्मेवारी दियो । त्यसका लागि म आभारी छु । मेरो खेल कस्तो हुन्छ भन्नेमा म वास्तवमै धेरै उत्सुक छु । नेदरल्यान्डस् नौलो टिम होइन । नेदरल्यान्डस्का धेरै खेलाडीसँग हामीले पहिल्यै खेलिसकेका छौं ।

नेदरल्यान्डस्का अहिलेका अधिकांश खेलाडी काउन्ट्री क्रिकेट खेल्छन् । त्यसैले, हाम्रो राम्रो चिनजान छ । तर, नेपालको टिममा धेरै युवा खेलाडी छन्, त्यसैले नेपाल खतरनाक छ । नेपाली टिमले अहिले गरेको मिहीनेत वास्तवमा भविष्यको प्रदर्शनमा गरिएको लगानी हो । त्यसैले, म नेपालसँग खेल्न एकदमै उत्साहित छु ।

यो त्रिकोणात्मक श्रृखंला जित–हारका लागि नभएर समग्र क्रिकेटको प्रवद्र्धन र विकासका लागि हो । लर्डस्को मैदानमा नेपालविरुद्धको खेल मेरा लागि स्मरिणय हुनेछ । नेदरल्यान्डस्को प्रदर्शन धेरैपटक टि–२० विश्वकपमा देखिसकिएको छ । कुन खेलाडी कस्तो खेल्छन् सबैलाई अवगत छ । तर, नेपालको खेल तथ्यांकमा आँकलन गर्न सकिदैन । त्यसैले, नेपालको सामना गर्न तयारीले मात्र पुग्दैन मैदानमा आत्मविश्वासी हुनु पनि जरुरी छ ।

नेपालका सन्दिप लामिछाने एकदमै राम्रा खेलाडी हुन् । एउटा खेलमा हामीले उनको पनि सामना गर्नेछौं । मलाई लाग्छ सन्दिप क्रिकेटका निकै आक्रामक योद्धा हुन् । मैले नेपालको पछिल्लो अभ्यास खेलमा उनको प्रदर्शन हेरेको थिएँ । उनका २–३ बलमा लगातार राम्रो रन बनाए पनि उनी अर्कोपटक उत्तिकै आत्मविश्वासका साथ बलिङ गर्छन् । यसले सन्दिपको बलमा बाउन्ड्री हानिसकेको ब्याट्सम्यान पनि उनको बलिङ सामना गर्दा हच्किन्छन् । त्यसैले पनि अभ्यास खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

आइपिएलमा सन्दिपले दिल्लीबाट खेलेका सबै खेल मैले हेरेको छु । आइपिएलमा उनको राम्रो प्रदर्शनको खास कारण पनि यही हो, उनको आत्मविश्वास । यो राम्रो क्रिकेटरमा हुनैपर्ने गुणमध्येको एक हो । यसले उनलाई आशलाग्दो लेगस्पिनर बनाएको छ । म विश्वस्त छु, भविष्यमा सन्दिपले यस्ता धेरै अवसर पाइरहने छन् ।

नेपालको युवा टिम र खेलाडीको जोश हेर्दा लाग्छ उनीहरुले हाम्रो एमसिसीको टिमलाई पराजित गर्न सक्छन् । तर पनि हामी त्यसै हार त मान्दैनौं । म नेपालसँग खेल्न जति उत्साहित छु, त्योभन्दा बढी नेदरल्यान्डस् र नेपालबीचको प्रतिस्पर्धा हेर्न लालायित पनि छु । मलाई लाग्छ, यो त्रिकोणात्मक सिरिजको सबैभन्दा रोमाञ्चक खेल त्यही नै हुनेछ । वास्तवमा मैले नेपालको कुनै खेल पुरा हेरेको छैन ।

लगभग ४–५ वर्ष पहिले नेपालको यू–१९ टिम श्रीलंकामा खेल्न गएको थियो । त्यसबेला खेलेका केही खेलाडी मैले यहाँ राष्ट्रिय टिममा देखिरहेको छु । त्यसैले पनि म नेपालविरुद्धको खेललाई लिएर धेरै उत्साहित छु ।