सन्तोष साहुखल भन्छन्, ‘मौका पाए राष्ट्रिय टिमबाट खेल्छु’

नेपाली राष्ट्रिय टोलीका पुर्व स्ट्राइकर सन्तोष साहुखलले राष्ट्रिय टिमबाट पुनः खेल्ने चाहना रहेको बताएका छन् ।
राजधानीमा जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्न नेपाल आएका सन्तोषले टिमले बोलाए नेपालको जर्सी लगाउन तयार रहेको बताएका हुन् ।

३० बर्षिय सन्तोष च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलिरहेका छन् । सन्तोषले शनिबार त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्दै च्यासलबाट डेब्यु गरेका थिए ।

‘मौका पाए अझै राष्ट्रिय टिमबाट खेल्नेछु,’ आर्मीसंगको खेलपछि सन्तोषले भने, ‘टिमले बोलाउनेमा विश्वास छ ।’
सन् २००७ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३० बर्षीय सन्तोष पछिल्लो समय नेपाली टोलीमा परेका छैनन् । उनले सन् २०१५ मा अन्तिम पटक नेपाली टोलीबाट खेलेका थिए ।
राष्ट्रिय टोलीबाट खेल्ने मन भएपनि विविध कारणले राष्ट्रिय टोलीसंग सम्पर्क टुटेको समेत सन्तोषले बताए ।

‘राष्ट्रिय टोलीबाट खेल्न मन छ । तर, विविध कारण छ । समयमा जानकारी हुँदैछ । क्याम्पका लागि बोलाईदिन्न । एन्फा र प्रशिक्षकहरुले चाहे र बोलाए खेल्नेछु,’ उनले थपे ।
पछिल्लो समय जापानमा बस्दै आएका सन्तोष लिग खेल्न बिहिबार मात्र नेपाल आईपुगेका हुन् । घरेलु लिग फुटबलका सर्वाधिक सफल खेलाडी सन्तोषलाई च्यासलले लिग खेल्न नेपाल बोलाएको हो ।

सन्तोष पछिल्लो समय व्यवसायीक फुटबलबाट टाढा रहेका थिए । नेपालमा लिग फुटबल रोकिएपछि सन्तोष जापानमा बस्दै आएका थिए । तर, उनले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका छैनन् ।

सन्तोषले नेपालमा लिग सुरु भएको र लिगमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा फर्कने समेत बताए ।

‘नेपालमा लिग नभएको कारण म जापान गएको हो । अब लिग पनि सुरु भएको छ । यस लिगमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा फर्कन सक्छु,’ उनले भने ।

यस्तै सन्तोषले ‘ए’ डिभिजन लिगमा १०० सय गोल पुर्राउने लक्ष्यसहित नेपाल फर्किएको बताए । उनले पहिलो दिन मौषमको कारण आफुले राम्रो प्रदर्शन गर्न नसकेको पनि बताए ।

सन्तोषले यसअघि घरेलु लिगमा थ्री स्टार, मनाङ मर्स्याङ्दी र एपीएफ क्लबबाट खेलिसकेका छन् । यस्तै सन्तोषले बंगलादेशको क्लब अब्बानी लिमिटेडबाट समेत ३ बर्ष खेलेका थिए । पछिल्लो पटक सन्तोषले सन् २०१२ मा थ्री स्टारबाट लिग खेलेका थिए ।