सन्तोष साहुखल ‘ए’ डिभिजन लिग खेल्न नेपालमा

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व खेलाडी सन्तोष साहुखल नेपाल आएका छन् । पछिल्लो समय जापानमा रहदै आएका सन्तोष बिहिबार नेपाल आईपुगेका हुन् । उनी ‘ए’ डिभिजन लिग खेल्न नेपाल आएका हुन् । घरेलु लिग फुटबलका सर्वाधिक सफल खेलाडी सन्तोषलाई च्यासल युथ क्लबले लिग खेल्न नेपाल बोलाएको हो । सन्तोष पछिल्लो समय व्यवसायीक फुटबलबाट टाढा रहेका थिए ।

नेपालमा लिग फुटबल रोकिएपछि सन्तोष जापानमा बस्दै आएका थिए । मंसिर १ गतेबाट सुरु हुने लिगका बाँकी खेलमा सन्तोषले च्यासलको जर्सी लगाउने तयारीमा छन् ।
यसअघि सन्तोषले घरेलु लिगमा थ्री स्टार, मनाङ मर्स्याङ्दी र एपीएफ क्लबबाट खेलिसकेका छन् । यस्तै सन्तोषले बंगलादेशको क्लब अब्बानी लिमिटेडबाट समेत ३ बर्ष खेलेका थिए । पछिल्लो पटक सन्तोषले सन् २०१२ मा थ्री स्टारबाट लिग खेलेका थिए ।

सन् २००७ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ३० बर्षीय सन्तोष पछिल्लो समय नेपाली टोलीमा परेका छैनन् । उनले सन् २०१५ मा अन्तिम पटक नेपाली टोलीबाट खेलेका थिए ।