कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले दोस्रो जित निकालेको छ ।
बिहिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे ।
एपीएफका नबिन लामा र आशिष लामा लामाले एक एक गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता पनि संकटाले बनाएको थियो । खेलको १९ औं मिनेटमा लक्ष्मणले फ्रिकिकमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४४ औं मिनेटमा कर्णले गोल गर्दा पहिलो हाफमा संकटा २-० ले अघि रह्यो । कर्णको यो संकटाको लागि पहिलो गोल समेत हो ।
दोस्रो हाफमा भने खेल रोमान्चक बन्यो ।
५३ औं मिनेटमा मार्टिन्सले गोल गर्दै संकटालाई ३-० को अग्रता दिलाए । तर, ५६ औं मिनेटमा एपीएफका नविनले पेनाल्टीमा गोल गर्दै खेल ३-१ को बनाए । त्यसपछि खेलको ७२ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।
तर, खेलको ८८ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४-२ को जित दिलाए । खेलमा मार्टिन्स नै म्यान अफ दि म्याच चुनिए ।
जितसँगै संकटा लिगको सातौं स्थानमा उक्लिएको छ । संकटाले ५ खेलमा ७ अंक जोडेको छ ।
एपीएफको ५ खेलमा ४ अंक रहेको छ । एपीएफ लिगको ११ औं स्थानमा रहेको छ ।