श्रीलंकामाथी भुटानको सान्दार जित, फाइनलमा प्रवेश

भुटानले लिग चरणको अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ फाइनलमा स्थान पक्का गरेको छ ।

भुटानले श्रीलंकामाथि ३-० को फराकिलो जित दर्ता गर्दै स्वर्ण भिडन्तमा स्थान पक्का गर्यो । भुटानले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो । यससँगै भुटानले ४ खेलमा ९ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो ।

यसअघि नेपाल पनि माल्दिभ्सलाई २-१ ले पराजित गर्दै फाइनलनजिक पुगेको थियो । भुटानको जितले भने नेपालले अब अन्तिम लिग खेलमा बंगलादेशसँग कम्तिमा १ अंक जोड्नुपर्ने समीकरण आएको छ । बंगलादेशसँग पराजित भएको खण्डमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

अंक तालिकामा भुटान ४ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा छ । नेपालको ३ खेलमा ७ अंक छ भने बंगलादेशको समान खेलमा ४ अंक रहेको छ । माल्दिभ्स र श्रीलंका ४ खेलमा २-२ अंक जोड्दै खालि हात फर्केका छन् ।